वीरगंज, २७ असार।
शैक्षिक सहीद मुकुन्द प्रसाद खनाल स्मृति प्रतिष्ठान, वीरगंजले शनिवार वीरगंज महानगरपालिका–१६ स्थित नगवा माईधिया पोखरी परिसरमा रहेको बाबा गनिनाथ गोबिन्दजी मन्दिरको प्राङ्गणमा वृक्षारोपण गरेको छ।
वृक्षारोपण गरौं–वातावरण संरक्षण गरौं, हाम्रो वीरगंज–हरियाली वीरगंज भन्ने मूल नाराका साथ आयोजना गरिएको कार्यक्रममा विभिन्न प्रजातिका बिरूवा रोपेर वातावरण संरक्षण तथा हरियाली प्रवद्र्धन गर्ने सन्देश दिइएको थियो। कार्यक्रम प्रतिष्ठानकी अध्यक्ष मुना खनालको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका सभापति बृजकिशोर पटेलले वातावरण संरक्षण आजको प्रमुख आवश्यकता भएकोले वृक्षारोपणलाई केवल औपचारिक कार्यक्रममा सीमित नराखी बिरूवाको संरक्षण र नियमित हेरचाहमा समेत सबैले ध्यान दिनुपर्ने बताए।
प्रतिष्ठानका वरिष्ठ सल्लाहकार एवं समाजसेवी प्रकाश कुमार उपाध्याय, नेपाल प्रौढ संघका अध्यक्ष तथा समाजसेवी नन्दलाल अहिर, प्राध्यापक हरेराम ठाकुर, प्रतिष्ठानका उपाध्यक्ष युवराज खड्का, कोषाध्यक्ष वीणा आचार्य, सहसचिव अजित भुजेल, सदस्यहरू अभिलाष गुप्ता लगायतको सहभागिता थियो। प्रतिष्ठानका सचिव लालबाबु सिंहले सञ्चालन गरेको कार्यक्रमको संयोजन श्रवण रायमाझीले गरेका थिए।







