वीरगंज , असार २८ —
फिफा विश्वकप २०२६ को सेमिफाइनल समीकरण पूरा भएको छ। आइतबार बिहान सम्पन्न क्वाटरफाइनल खेलपछि फ्रान्स, स्पेन, इंग्ल्यान्ड र अर्जेन्टिनाले अन्तिम चारमा स्थान बनाएका हुन्।
क्वाटरफाइनलमा इंग्ल्यान्डले अतिरिक्त समयमा नर्वेलाई २–१ ले तथा साविक विजेता अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई ३–१ ले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरे। यसअघि फ्रान्सले मोरक्कोलाई २–० र स्पेनले बेल्जियमलाई २–१ ले हराउँदै अन्तिम चारमा स्थान बनाएका थिए।
पहिलो सेमिफाइनलमा फ्रान्स र स्पेन तथा दोस्रो सेमिफाइनलमा अर्जेन्टिना र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुनेछ।
यसपटक सेमिफाइनल पुगेका चारै टोली विश्वकपका पूर्व विजेता हुन्। अर्जेन्टिनाले तीन पटक, फ्रान्सले दुई पटक तथा स्पेन र इंग्ल्यान्डले समान एक–एक पटक विश्वकप उपाधि जितेका छन्।
पहिलो सेमिफाइनल असार ३१ गते अमेरिकाको डालासमा र दोस्रो सेमिफाइनल असार ३२ गते एटलान्टामा हुनेछ। दुवै खेल नेपाली समयअनुसार बिहान १२:४५ बजे सुरु हुनेछन्। फाइनल खेल साउन ४ गते अमेरिकाको न्युयोर्क–न्यु जर्सी स्टेडियममा हुनेछ।







