वीरगंज , असार २८ —
वैदेशिक रोजगार विभागले अनुमति नलिई भारतका विमानस्थल प्रयोग गरेर नेपाली श्रमिकलाई विदेश पठाउने १५९ म्यानपावर कम्पनीलाई कारबाही गरेको छ।
विभागले ती कम्पनीलाई वैदेशिक रोजगार ऐन, २०६४ विपरीत कार्य गरेको ठहर गर्दै पहिलो पटक सचेत गराएको हो। विभागका अनुसार चैत १ देखि जेठ मसान्तसम्म विदेश गएका श्रमिकको उडान विवरण अध्ययन गर्दा स्वीकृतिबिनै भारतीय विमानस्थल प्रयोग गरिएको पाइएको हो।
यस्तै, माग गरिएको विवरण नै नबुझाउने ४३९ म्यानपावर कम्पनीलाई पनि पहिलो पटक सचेत गराउँदै विवरण बुझाउन निर्देशन दिइएको छ।
पटक–पटक कानुन उल्लंघन गर्ने थप आठ म्यानपावर कम्पनीलाई भने जनही ५० हजार रुपैयाँका दरले जरिबाना गरिएको विभागले जनाएको छ।
विभागले कानुन र विभागीय निर्देशनको पूर्ण पालना गर्न सबै वैदेशिक रोजगार व्यवसायीलाई आग्रह गर्दै उल्लंघन दोहोरिए थप कडा कारबाही गरिने चेतावनी दिएको छ।







