वीरगंजमा सार्वजनिक सडक दुई महिनादेखि बन्द

1200x150_1200x150-01.jpg (1)

वीरगंज, असार २८ —

वीरगंज महानगरपालिका–७ रेल्वे रोडस्थित नेपाल जिम क्लब पश्चिमको सार्वजनिक सडक करिब दुई महिनादेखि अवरुद्ध हुँदा स्थानीयवासीले सास्ती खेपिरहेका छन्। निजी बंगला निर्माणका क्रममा सडक र नाला बन्द गरिए पनि समयमै सञ्चालनमा नल्याइएको भन्दै स्थानीयले महानगरपालिकाप्रति असन्तुष्टि जनाएका छन्।

स्थानीयका अनुसार व्यवसायी निरञ्जन चौधरीको बंगला निर्माणका क्रममा सडक र नाला भत्काइएपछि आवागमन प्रभावित भएको हो। महानगरपालिकाको रोहबरमा ३५ दिनभित्र सडक पुनः सञ्चालन गर्ने सहमति भए पनि अवधि सकिएको लामो समय बित्दा पनि कार्यान्वयन हुन सकेको छैन।

नाला बन्द हुँदा सामान्य वर्षामै टोल डुबानमा पर्न थालेको स्थानीयको गुनासो छ। शुक्रबार रातिको वर्षापछि घर–घरमा पानी पस्न थालेपछि स्थानीयले शनिबार निर्माणस्थलमै पुगेर विरोध जनाएका थिए।

विवादपछि महानगरका सरसफाइ शाखा प्रमुख, नगर प्रहरी प्रमुख र वडा अध्यक्ष घटनास्थल पुगेका थिए। तर सडक कहिले सञ्चालन हुने वा सहमति उल्लंघन गर्ने पक्षमाथि के कारबाही हुने भन्नेबारे कुनै स्पष्ट निर्णय सार्वजनिक नभएको भन्दै स्थानीय असन्तुष्ट छन्।

स्थानीयले सार्वजनिक सडक र नालालाई तत्काल पूर्ववत् अवस्थामा सञ्चालन गर्न, सहमति उल्लंघन गर्ने पक्षमाथि कानुनी कारबाही गर्न तथा घटनाको निष्पक्ष छानबिन गर्न माग गरेका छन्। निर्माणधनी निरञ्जन चौधरी तथा वीरगंज महानगरपालिकाले भने यस विषयमा औपचारिक प्रतिक्रिया दिएका छैनन्।

सम्बन्धित पोस्टहरुः