वीरगंज , असार २९ —
नेशनल मेडिकल कलेज प्रालि, वीरगंज र भारतको नयी दिशा एजुकेशनल सोसाइटीबीच स्वास्थ्य सेवा सहकार्य सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ।
सम्झौतामा नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक शाहनवाज अन्सारी तथा नयी दिशा एजुकेशनल सोसाइटीका सचिव सुरेन्द्र कुमार सिंहले हस्ताक्षर गरेका हुन्।
सम्झौताअनुसार सोसाइटीका बोर्ड सदस्य, कर्मचारी, समुदायका सदस्य तथा उनीहरूका आश्रित परिवारले नेशनल मेडिकल कलेजमा ओपीडी, बेड, शल्यक्रिया, प्याथोलोजी, सिटी स्क्यान, एमआरआई, एक्स–रे, ईसीजी, ईको, टीएमटी तथा औषधि सेवासहित विभिन्न स्वास्थ्य सेवामा विशेष छुट पाउनेछन्। साथै, आवश्यकताअनुसार क्यासलेस बीमा सेवा, वेलनेस प्याकेज तथा प्राथमिकताका आधारमा स्वास्थ्य सेवा उपलब्ध गराइनेछ।
दुवै संस्थाबीच प्रत्येक तीन महिनामा निःशुल्क स्वास्थ्य शिविर, रक्तदान कार्यक्रम तथा स्वास्थ्य सचेतनामूलक गतिविधि सञ्चालन गर्ने सहमति पनि भएको छ।
सम्झौताले भारतका लाभग्राहीलाई गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच उपलब्ध गराउनुका साथै नेपाल–भारतबीच स्वास्थ्य क्षेत्रमा संस्थागत सहकार्यलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ।
सम्झौता कार्यक्रममा नेशनल मेडिकल कलेजका प्रमुख सूचना अधिकृत ई. प्रदीपकुमार चौधरी, मार्केटिङ म्यानेजर जितेश चन्द्र दास, वरिष्ठ प्रशासन अधिकृत विश्वनाथ कण्ठ, प्रशासन अधिकृत पप्पु सिंह तथा दुवै संस्थाका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।






