बारा, असार २९ —
नेपाल प्रहरी प्रदेश कार्यालय वीरगञ्ज, पर्साका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (प्र.ब.उ.) कृष्णबहादुर पल्ली मगरले जिल्ला प्रहरी कार्यालय बाराको निरीक्षण गरेका छन्।
निरीक्षणका क्रममा उनले अपराध अनुसन्धान शाखा, हिरासत कक्ष, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र, उजुरी छानबिन शाखालगायत विभिन्न शाखाको अवलोकन गरेका थिए।
यस अवसरमा जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक (प्र.उ.) नरेन्द्र कुँवरले जिल्लाको शान्ति सुरक्षा अवस्था तथा विभिन्न शाखाबाट सम्पादित कार्यहरूको तथ्याङ्कसहित प्रस्तुतीकरण गरेका थिए।
निरीक्षणपछि प्रदेश प्रहरी प्रमुख पल्ली मगरले प्रहरी कर्मचारीलाई समसामयिक प्रविधियुक्त तथा प्रमाणमुखी अनुसन्धानलाई प्राथमिकतामा राखी व्यावसायिक ढंगले कार्यसम्पादन गर्न आवश्यक निर्देशन दिएका थिए।






