रौतहट । मंगलबार राति आत्मदाह प्रयास गरेका गरुडा- ९ गमरियाका २८ वर्षीय गौतमकुमार सहनीको मानसिक अस्वस्थतामा गुज्रिएको र मादक पदार्थ सेवन गरेको प्रहरीले जनाएको छ ।
आत्मदाह प्रयासपछि उनको उद्दारका क्रममा प्रहरी पुग्दा आफैँ सञ्चालक रहेको रेष्टुरेन्टमा मादक पदार्थ सेवन गरेको खुल्न आएको जिल्ला प्रहरी प्रमुख एसपी सीताराम रिजालले बताए । अहिले उनको वीर अस्पतालमा उपचार भइरहेको छ ।
गरुडा बजारमा उनले सञ्चालन गरेको रेष्टुरेन्टमा केही स्टाफसहित आफैँ पनि रेष्टुरेन्टका काममा सरिक हुँदै आएको उनको परिवारले प्रहरीलाई बताएको छ । घरमा कोहीसँग कुनै भनाभन नभएको र राति १ बजे घर पुग्नासाथ एकाएक आफ्नो मोटरसाइकलको ट्याङ्कीबाट पेट्रोल झिकेर शरीरमा आगो लगाएका थिए ।







