पर्सागढीमा ३५ जना क्यान्सरपीडित रहेकोे डरलाग्दो तथ्याङ्क सार्वजनिक

1200x150_1200x150-01.jpg (1)

वीरगंज, असार ३१ —

पर्सागढी नगरपालिकाले सार्वजनिक गरेको गम्भीर रोगका बिरामीहरूको तथ्याङ्कले पर्सा जिल्लामा क्यान्सर रोगको बढ्दो जोखिमबारे गम्भीर प्रश्न उठाएको छ। नगरपालिकाले नेपाल सरकारको जीवन निर्वाह सहायता कार्यक्रमअन्तर्गत तयार गरेको सूचीमा रहेका ४४ लाभग्राहीमध्ये ३५ जना क्यान्सरका बिरामी रहेको तथ्य सार्वजनिक भएको हो।

एउटै स्थानीय तहमा करिब ८० प्रतिशत लाभग्राही क्यान्सरका बिरामी देखिनु स्वास्थ्य क्षेत्रका लागि चिन्ताको विषय बनेको छ। यद्यपि यो तथ्याङ्कले सम्पूर्ण जिल्लाको प्रतिनिधित्व नगरे पनि जिल्लाको वास्तविक अवस्था अध्ययन गर्नुपर्ने आवश्यकता औँल्याएको छ।

स्वास्थ्य कार्यालय पर्साका स्वास्थ्य अधिकृत जयमोद ठाकुरका अनुसार पछिल्ला वर्षहरूमा क्यान्सर परीक्षण सेवाको पहुँच बढेकाले पहिले पहिचान नभएका बिरामी पनि दर्ता हुन थालेका छन्। सुर्तीजन्य पदार्थको सेवन, मदिरा, वायु प्रदूषण, विषादीयुक्त खाद्यान्न र अस्वस्थ जीवनशैली क्यान्सरका प्रमुख जोखिम कारक रहेको उनको भनाइ छ।

स्वास्थ्यकर्मीहरूले पर्साका सबै स्थानीय तहमा क्यान्सरसम्बन्धी तथ्याङ्क व्यवस्थित रूपमा सङ्कलन गर्न, प्रारम्भिक परीक्षण विस्तार गर्न र जनचेतना अभिवृद्धि गर्न आवश्यक रहेको बताएका छन्। पीडित परिवारहरूले उपचार अत्यन्त महँगो भएकाले सरकारले उपलब्ध गराउँदै आएको मासिक पाँच हजार रुपैयाँ सहायता पर्याप्त नभएको भन्दै थप सहयोग र प्रभावकारी स्वास्थ्य नीति कार्यान्वयनको माग गरेका छन्।

सम्बन्धित पोस्टहरुः