गहवामाई मन्दिर क्षेत्रबाट २५ किलो गुणस्तरहीन लड्डु नष्ट

1200x150_1200x150-01.jpg (1)


वीरगंज, असार ३१ —

गहवामाई मन्दिर आसपास बिक्री हुँदै आएका लड्डु, पेडा तथा अन्य मिठाईको गुणस्तरबारे सार्वजनिक चासो बढेपछि सम्बन्धित निकायले बुधबार संयुक्त रूपमा बजार अनुगमन गरेको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय वीरगंज वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, जिल्ला प्रशासन कार्यालय पर्सा, उपभोक्ता हित संरक्षण मञ्च नेपाल तथा सञ्चारकर्मी सम्मिलित टोलीले मन्दिर आसपासका मिठाई पसल तथा उद्योगहरूको निरीक्षण गरेको हो।

अनुगमनका क्रममा केही पसल तथा उद्योगमा किचेनको सरसफाइ सन्तोषजनक नभएको, ढुसी लागेको लड्डु बिक्रीका लागि राखिएको तथा लड्डुमा अत्यधिक कृत्रिम रङ प्रयोग गरिएको पाइएको टोलीले जनाएको छ।

टोलीले तीन वटा फर्मबाट करिब २५ केजी गुणस्तरहीन लड्डु जफत गरी नष्ट गरेको छ। साथै खाद्य स्वच्छता मापदण्ड उल्लङ्घन गरेको पाइएपछि सञ्जय खोवा भण्डार, गणेश मिष्ठान भण्डार र सम्भु लड्डु तथा मिष्ठान भण्डारलाई जनही २० हजार रुपैयाँका दरले जरिवाना गरिएको छ। माईस्थानस्थित आस्था मिष्ठान भण्डारमा रहेको गुणस्तरहीन लड्डु पनि नष्ट गरिएको जनाइएको छ।

गहवामाई मन्दिर क्षेत्रमा वर्षभरि नै भक्तजनको ठूलो भीड लाग्ने भएकाले त्यहाँ बिक्री हुने खाद्य वस्तुको गुणस्तरमा विशेष ध्यान दिन आवश्यक रहेको अनुगमन टोलीले जनाएको छ। स्थानीय उपभोक्ताले धार्मिक स्थल वरपर नियमित र प्रभावकारी अनुगमन गरी उपभोक्ताको स्वास्थ्य सुरक्षालाई सुनिश्चित गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।

सम्बन्धित पोस्टहरुः