पर्सा , असार ३२ —
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठकले नेपालको विद्युत् बजार विस्तार र निर्यातका क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गरेको बताएका छन्।
पोखरामा सम्पन्न नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समिति (जेएससी) को १३औँ बैठकले सीमापार विद्युत् व्यापार विस्तार, नयाँ अन्तरदेशीय प्रसारण लाइन निर्माण तथा दीर्घकालीन ऊर्जा सहकार्यलाई तीव्रता दिने निर्णय गरेको हो।
बैठकले हाल ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनमार्फत भइरहेको विद्युत् कारोबारको क्षमता बढाउँदै आयात १,४०० मेगावाट र निर्यात १,६५० मेगावाट पुर्याउने निर्णय गरेको छ। साथै चमेलिया–धौलीगंगा, इनरुवा–न्यू पूर्णिया, दोधोधरा–बरेली र मोतिहारी–निजगढ प्रसारण लाइन निर्माणलाई पनि अघि बढाउने सहमति भएको छ।
मन्त्री श्रेष्ठले यस निर्णयले भारतमा १० हजार मेगावाट विद्युत् निर्यात गर्ने दीर्घकालीन लक्ष्य हासिल गर्न सहयोग पुग्ने तथा विदेशी मुद्रा आर्जन, व्यापार घाटा न्यूनीकरण र राष्ट्रिय अर्थतन्त्र सुदृढ बनाउन टेवा पुग्ने विश्वास व्यक्त गरेका छन्।
फोटो फाईल






