वीरगंज, असार ३२ —
पर्साको जगरनाथपुर गाउँपालिका–५ चिलवाटी टोलकी ३४ वर्षीया हीरादेवी यादवको उपचारका क्रममा वीरगञ्ज न्युरो अस्पतालमा मृत्यु भएको छ। परिवारले सार्वजनिक जग्गाको बाटो सम्बन्धी विवादमा भएको कुटपिटका कारण उनको मृत्यु भएको दाबी गरेको छ।
परिवारका अनुसार असार १८ गते बिहान करिब १ बजे निर्माणाधीन बोर्डिङ सेन्टरको बाटो सम्बन्धी विवादका क्रममा हीरादेवीमाथि कुटपिट भएको थियो। घाइते भएपछि उनलाई पोखरिया अस्पताल, त्यसपछि काठमाडौं हुँदै वीरगञ्ज न्युरो अस्पताल लगिएको थियो, जहाँ उपचारकै क्रममा मृत्यु भएको हो।
घटनामा संलग्न रहेको आरोपमा वडाध्यक्ष बिहारी मुखिया, रामबाबु यादव र श्याम यादवविरुद्ध इलाका प्रहरी कार्यालय पोखरियामा किटानी जाहेरी दर्ता गरिएको छ। पोस्टमार्टमपछि शव परिवारलाई बुझाइएको प्रहरीले जनाएको छ।
यता इलाका प्रहरी कार्यालय पोखरियाले भने घटनास्थलमा प्रहरी पुगेका बेला कुटपिट भएको अवस्था नदेखिएको जनाएको छ।
प्रहरीका अनुसार पोखरिया अस्पतालको प्रारम्भिक रिपोर्टमा पनि कुटपिटबाट घाइते भएको स्पष्ट उल्लेख छैन। साथै घटना बिहान भएको भनिए पनि घाइतेलाई साँझ करिब ५ बजे मात्रै अस्पताल ल्याइएको विषयले घटनालाई शंकास्पद बनाएको प्रहरीको भनाइ छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको र प्रमाणका आधारमा कानुनी कारबाही अघि बढाइने जनाएको छ। यसैक्रममा सो घटनासँग सम्बन्धित वडाध्यक्षलाई नियन्त्रणमा लिएर हाजिर जमानीमा रिहा गरिएको प्रहरीले जानकारी दिएको छ।






