बारामा वेल्डिङ गर्ने क्रममा करेन्ट लागेर कामदार घाइते

1200x150_1200x150-01.jpg (1)

बारा, असार ३२ —

बाराको कोल्हवी नगरपालिका–८ मिलनचोकमा वेल्डिङ गर्ने क्रममा ११ हजार भोल्टको विद्युत् तारमा करेन्ट लाग्दा एक कामदार घाइते भएका छन्।

घाइते हुनेमा कोल्हवी–८ नयाँबस्ती टोल निवासी ३२ वर्षीय नवसाद आलम रहेका छन्। उनी बिशेश्वर प्रसाद कोइरालाको घरमा वेल्डिङको काम गरिरहेका बेला फलामको पाइप उचाल्ने क्रममा माथिबाट गएको ११ हजार भोल्टको विद्युत् लाइनमा सट भई करेन्ट लागेर घाइते भएको प्रहरीले जनाएको छ।

घाइते आलमको प्रादेशिक अस्पताल कलैयामा उपचार भइरहेको छ। अस्पतालका अनुसार उनको स्वास्थ्य अवस्था मध्यम रहेको छ।

घटनापछि अस्पतालमा कार्यरत प्रहरी कर्मचारीले प्रहरी चौकी मधुवनलाई जानकारी गराएका थिए। त्यसलगत्तै प्रहरी सहायक निरीक्षक बिसम्बर नाथ मिश्राको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेर घटनाबारे आवश्यक अनुसन्धान थालेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घटनास्थलमा भइरहेको निर्माण कार्यको ठेक्का चन्द्रप्रसाद गौतमले लिएका थिए। हाल घटनाबारे थप अनुसन्धान भइरहेको छ।

सम्बन्धित पोस्टहरुः