वीरगंज, असार ३२ —
वीरगंज स्थित प्रसिद्ध शक्तिपीठ श्री गहवामाई मन्दिरको चौथो रथयात्रा बिहीबार श्रद्धा, भक्ति र उत्साहका साथ भव्य तथा शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। रथयात्रामा पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल , प्रतिनिधिसभा सदस्य सुशील साह कानु, युवा नेता सुधिर पटेलसहित उल्लेख्य श्रद्धालु भक्तजनको सहभागिता रहेको थियो।
विशेष पूजा–आराधनापछि बिहान सुरु भएको रथयात्रा घण्टाघर, रेलवे रोड, छपकैया, मुख्य सडक, अस्पताल रोड, मकालु चोक, आदर्शनगर हुँदै पुनः माईस्थान मन्दिर पुगेर सम्पन्न भएको थियो। रथयात्रा अवधिभर भक्तजनले भजन–कीर्तन र जयकारासहित सहभागिता जनाएका थिए।
रथयात्राको सुरक्षा व्यवस्थाका लागि जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी राजु कार्कीको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र ट्राफिक प्रहरी परिचालन गरिएको थियो। मार्गभर कडा सुरक्षा व्यवस्था तथा सहज ट्राफिक व्यवस्थापन मिलाइएको थियो।
आयोजक समितिका सचिव पप्पु गुप्ताले आज साँझ ६ बजे हुने भजन सन्ध्या तथा श्रावण १ गते बिहान ६ बजे हुने ५६ भोग महापूजा र दिउँसो ४ बजे हुने विशाल महाप्रसाद भण्डारामा सहभागी हुन भक्तजनलाई आग्रह गरेका छन्।
विश्व ज्योतिष महासङ्घका एसिया उपसभापति डा. पुरुषोत्तम दुबेले महापूजा र महाप्रसादको विशेष धार्मिक महत्त्व रहेको उल्लेख गर्दै कार्यक्रमलाई सभ्य, शान्तिपूर्ण र व्यवस्थित बनाउन सबैसँग सहयोगको अपिल गरेका छन्।
आयोजक समितिका अनुसार यस वर्षको रथयात्रा धार्मिक आस्था, सामाजिक सद्भाव र उत्कृष्ट सुरक्षा व्यवस्थासहित सफलतापूर्वक सम्पन्न भएको छ।






