वीरगंज, असार ३२ —
वीरगंज महानगरपालिकामा सडक विस्तारका क्रममा मुख्य नालाहरू अवरुद्ध भएपछि विभिन्न बस्तीमा वर्षाको पानी जम्न थालेको छ। पानीको निकास नहुँदा डेङ्गी, झाडापखाला, टाइफाइड, हैजालगायत जलजन्य तथा सरुवा रोग फैलिने जोखिम बढेको भन्दै चिकित्सकहरूले तत्काल रोकथामका उपाय अपनाउन आग्रह गरेका छन्।
सडक निर्माणका क्रममा मुख्य नालाहरू माटो, ढुङ्गा तथा निर्माण सामग्रीले पुरिँदा छपकैया, आदर्शनगर, मुर्ली, घण्टाघर, गहवा, घुसुकपुर, पावरहाउस र बहुअरी गण्डकलगायत क्षेत्रमा पानी जम्न थालेको स्थानीयवासीले बताएका छन्।
नारायणी अस्पतालका चिकित्सक डा. उदयनारायण सिंहका अनुसार पानीको निकास व्यवस्थित गर्न नसके डेङ्गीसँगै अन्य सरुवा रोग फैलिने जोखिम उच्च रहेको छ। उनले नालाको सरसफाइ, जमेको पानी हटाउने, लामखुट्टे नियन्त्रण, फगिङ तथा जनचेतनामूलक अभियान तत्काल सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन्।
यता महानगरपालिकाले हालसम्म प्रभावकारी रोकथाम कार्यक्रम सार्वजनिक गरेको छैन। महानगर स्रोतका अनुसार नयाँ आर्थिक वर्षको प्रारम्भिक चरण, बजेट कार्यान्वयन र प्रशासनिक प्रक्रियाका कारण तत्काल ठूला कार्यक्रम सञ्चालन गर्न कठिनाइ भइरहेको जनाएको छ।







