पर्सा, असार ३२ —
कालिकामाई गाउँपालिकामा कार्यरत कम्प्युटर अपरेटर चन्दन चौरसियामाथि भएको कुटपिट घटनापछि गाउँपालिकाभित्रको विवाद थप चर्किएको छ। कर्मचारी र स्थानीयबीच आरोप–प्रत्यारोप बढ्दै जाँदा सेवा प्रवाहसमेत प्रभावित हुने अवस्था देखिएको छ।
घटनापछि गाउँपालिकाका कर्मचारीहरूले पत्रकार सम्मेलन गर्दै दोषीविरुद्ध तत्काल मुद्दा दर्ता गरी कानुनी कारबाहीको माग गरेका छन्। माग पूरा नभए सम्पूर्ण सेवा ठप्प पार्ने चेतावनीसमेत दिएका छन्।
यता स्थानीयवासीले भने केही कर्मचारीले सेवाग्राहीसँग दुर्व्यवहार गर्ने, सूचना उपलब्ध नगराउन र सार्वजनिक सेवामा सहज पहुँच नदिने गरेको आरोप लगाएका छन्। कर्मचारीहरूले एकपक्षीय रूपमा आफूहरू मात्रै पीडित भएको दाबी गरिरहेको भन्दै स्थानीयले निष्पक्ष छानबिनको माग गरेका छन्।
यसअघि पनि गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतसँग सम्बन्धित कुटपिटको भिडियो सार्वजनिक भएको थियो। स्थानीयका अनुसार यस्ता विवादहरू विगतमा पनि कानुनी प्रक्रियाभन्दा आपसी सहमतिमै टुङ्ग्याइँदै आएका छन्।
सरोकारवालाले घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीमाथि कानुनबमोजिम कारबाही र वास्तविक पीडितलाई न्याय सुनिश्चित गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।







