वीरगञ्ज, २ साउन –
सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्साले अवैध रूपमा कटान गरी लुकाईछिपाई राखिएको सालको गोलिया काठ बरामद गरेको छ।
प्राप्त विशेष सूचनाका आधारमा मिति २०८३ साउन १ गते अपराह्न १६:५५ बजे जिल्ला पर्साको वीरगञ्ज महानगरपालिका–३१, सोलखपुरस्थित जंगल क्षेत्रमा सशस्त्र प्रहरी बल, नेपाल सु.बेश बेलवाबाट सशस्त्र प्रहरी नायब निरीक्षक नारायण प्रसाद अधिकारीको कमाण्डमा खटिएको टोली तथा सब–डिभिजन वन कार्यालय सबैयाबाट रेञ्जर भुपाल रोकायको कमाण्डमा खटिएको संयुक्त टोलीले उक्त स्थानमा खोजतलास गरेको थियो।
खोजतलासका क्रममा जंगलको छेउमा लुकाईछिपाई राखिएको अवस्थामा अन्दाजी २१ क्यू.फिट सालको गोलिया काठ फेला परेको थियो। बरामद गरिएको उक्त काठलाई आवश्यक कानुनी कारबाहीका लागि सोही दिन १७:२० बजे सब–डिभिजन वन कार्यालय सबैयामा बुझाइएको सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्साका सूचना अधिकारी एवं सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाले जानकारी दिनुभयो।







