पर्सा ,साउन १ —
चलचित्र ‘मास्टर्नी’ को प्रचारात्मक गीतलाई लिएर उत्पन्न विवादपछि अभिनेत्री तथा निर्माता प्रियंका कार्कीले सार्वजनिक रूपमा क्षमायाचना गरेकी छन्।
उनले जारी गरेको वक्तव्यमा गायक दुर्गेश थापाको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीत चलचित्रभित्र समावेश गरिएको आधिकारिक गीत नभई केवल प्रचारप्रसारका लागि तयार गरिएको स्पष्ट पारेकी छन्।
गीतमा प्रयोग भएका केही शब्द र दृश्यले शिक्षक–शिक्षिका पेसाको गरिमामा आँच पुगेको भन्दै आएका गुनासोप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै कार्कीले आफू र आफ्नो सम्पूर्ण टिमका तर्फबाट हृदयदेखि नै माफी मागेकी छन्।
उनले कसैको आस्था, पेसा वा सम्मानमा ठेस पुर्याउने उद्देश्य नरहेको बताउँदै भविष्यमा सिर्जना र विषयवस्तु छनोटमा अझ संवेदनशील, जिम्मेवार र सचेत रहने प्रतिबद्धता व्यक्त गरेकी छन्।
विवादपछि उक्त प्रचारात्मक गीत दुर्गेश थापाको युट्युब च्यानलबाट स्थायी रूपमा हटाइएको तथा आफ्ना सबै सामाजिक सञ्जालबाट पनि सम्बन्धित सामग्री हटाइसकिएको जानकारी कार्कीले दिएकी छन्। साथै उनले नेपाल शिक्षक महासंघ, सम्पूर्ण शिक्षक–शिक्षिका तथा दर्शकहरूप्रति पुनः क्षमायाचना व्यक्त गरेकी छन्।







