‘नागरिकलाई गुणस्तरीय स्वास्थ सेवा पुर्‍याउन प्रतिबद्ध छौँ’

1200x150_1200x150-01.jpg (1)

जनकपुरधाम, १ साउन: मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले नागरिकलाई गुणस्तरीय स्वास्थ सेवा सहज रूपमा पुर्‍याउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

मधेस प्रदेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहको आज जनकपुरमा उद्घाटन गर्दै उहाँले स्वास्थ्य सेवालाई उच्च प्राथमिकतामा राखी नागरिकलाई सर्बसुलभ तथा गुणस्तरीय सेवा पु¥याउने प्रदेश सरकारको पहिलो लक्ष्य रहेको बताउनुभयो ।

स्वास्थ्य उपचारको अभावमा कुनै पनि नागरिकले ज्यान गुमाउनु नपरोस् भन्ने उद्देश्यका साथ प्रदेशका हरेक अस्पतालमा विशेषज्ञ चिकित्सकसहित औषधि तथा अन्य स्वास्थ्य सामग्रीको व्यवस्थापन गरिएको उल्लेख गर्दै मुख्यमन्त्री यादवले स्वास्थ्य क्षेत्रमा सेवा दिने जनशक्तिको ज्ञान, सीप, इमान्दारिता, करुणा र व्यावसायिकताले हजारौँ नागरिकको जीवन रक्षा हुने भएकाले यसतर्फ सचेत रहन सबैलाई आग्रह गर्नुभयो ।

स्वास्थ्य निकै संवेदनशील तथा जनातको जीवनसँग जोडिएका क्षेत्र भएकाले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट उच्च शिक्षा हासिल गरेका स्वास्थ्यकर्मीले गुणस्तरियता कायम गर्दै स्वास्थ्य क्षेत्रको सुधारका लागि थप योगदान दिनुपर्नेमा मुख्यमन्त्री यादवले जोड दिनुभयो । प्रतिष्ठानलाई शिक्षण, अनुसन्धान, नवप्रवर्तन तथा विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्ने उत्कृष्ट केन्द्रका रूपमा स्थापित गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा शिक्षाविद् तथा राजर्षि जनक विश्व विद्यालयका पूर्वउपकुलपति प्रा डा अमरप्रसाद यादवले स्वास्थ्य क्षेत्रमा कृत्रिम बुद्धिमता, डिजिटल स्वास्थ्य प्रणाली, अनुसन्धान र प्रमाणमा आधारित उपचार पद्धतिले चिकित्सक क्षेत्रलाई थप उचाइमा पुर्‍याउन मद्दत गरेको बताउनुभयो ।

मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा डा अङ्कुर शाहले दीक्षित विद्यार्थीलाई प्रतिष्ठानबाट सिकेका ज्ञान, सीप, नैतिकता र मानवीय संवेदनालाई आत्मसात् गरेर स्वास्थ्य सेवामा समर्पित हुन आग्रह गर्नुभयो ।

विसं २०७७ मा स्थापना भएको मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट विभिन्न विधामा उपाधि हासिल गरेका ४३ जना विद्यार्थी दिक्षित भएका छन् । कार्यक्रममा मुख्यमन्त्री यादव र प्रतिष्ठानका उपकुलपति डा शाहले प्रतिष्ठानबाट उत्कृष्ट अङ्कसहित उत्तीर्ण भएका जितेन्द्रकुमार साह, विवेक खडका, जेनिसा लामा, जोशिका शर्मा, मोहम्मद बद्रे आलमलाई स्वर्ण पदकबाट सम्मान गर्नुभयो ।

सम्बन्धित पोस्टहरुः