पर्सा , साउन २ —
भारतले पहिलोपटक हाइड्रोजन इन्धनबाट चल्ने रेल सञ्चालनमा ल्याएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले हरियाणाको जिन्द रेलवे स्टेशनबाट उक्त रेलको औपचारिक उद्घाटन गरेका हुन्।
जिन्द–सोनिपत मार्गमा सञ्चालन हुने यो रेलले करिब ९० किलोमिटर दूरी तय गर्नेछ। भारतीय सञ्चारमाध्यमका अनुसार प्रतिघण्टा ११० किलोमिटर गति क्षमता रहेको यो रेल पूर्ण रूपमा वातावरणमैत्री छ र शून्य कार्बन उत्सर्जन गर्ने भएकाले हरित यातायाततर्फ भारतको महत्वपूर्ण उपलब्धि मानिएको छ।
रेलमा एकपटकमा करिब २ हजार ६ सय यात्रुले यात्रा गर्न सक्ने क्षमता रहेको छ। उद्घाटन समारोहमा प्रधानमन्त्री मोदीले १५७ किलोमिटर लामो दिल्ली–अमृतसर–कटरा एक्सप्रेस–वे पनि राष्ट्रलाई समर्पण गरेका छन्।
रेलमन्त्री अश्विनी वैष्णवले हाइड्रोजन रेललाई भारतको रेल सेवामा ऐतिहासिक उपलब्धि भन्दै आगामी दिनमा अन्य रेल मार्गमा पनि यो प्रविधि विस्तार गरिने जानकारी दिएका छन्। उनले रेल पूर्ण रूपमा भारतीय इन्जिनियरहरूले डिजाइन गरेको र स्वदेशी कम्पनीमार्फत निर्माण गरिएको बताएका छन्।






