वीरगंज , साउन ३ —
सडक डिभिजन कार्यालय हेटौंडाले त्रिभुवन राजपथअन्तर्गत सिरसिया मितेरी पुलदेखि बहुअरी गण्डक चोकसम्मको सडक खण्डमा पर्ने सडक सीमा तत्काल खाली गर्न पुनः आग्रह गरेको छ।
कार्यालयले सडकको केन्द्ररेखाबाट दायाँ–बायाँ २५–२५ मिटरभित्र रहेका घर, पसल तथा अन्य संरचना हटाउन निर्देशन दिएको हो। साथै सडक सीमाभित्र बसोबास नगर्न, घरका सामान सुरक्षित स्थानमा सार्न तथा होटल, लज र अतिथि गृहमा पाहुना नराख्न पनि सचेत गराइएको छ।
सडक विस्तारका क्रममा भत्किएका संरचनाका धनीलाई १५ दिनभित्र भग्नावशेष हटाउन अनुरोध गर्दै कार्यालयले समयमै सडक सीमा खाली नगरे कानुनबमोजिम कारबाही गरिने जनाएको छ। हाल पनि केही स्थानमा व्यवसाय सञ्चालन भइरहेकाले कार्यालयले पुनः सूचना जारी गरेको हो।







