कारागारका कैदीबन्दी दोस्रो दिन पनि आमरण अनसनमा

1200x150_1200x150-01.jpg (1)

राजविराज , साउन ३ —

सप्तरी कारागारका कैदीबन्दीले आफ्ना विभिन्न माग राख्दै दोस्रो दिन पनि आमरण अनसन जारी राखेका छन्। कारागारको ‘ए’ ब्लकमा रहेका २०१ जना कैदीबन्दी शनिबारदेखि अनसनमा बसेका हुन्।

कैदीबन्दीहरूले आफूहरूसम्बन्धी प्रकाशित तथा प्रसारित भ्रामक समाचार सच्याउन, ‘बी’ ब्लकका चौकीदारमाथि आक्रमण गर्ने दोषी कैदीबन्दीमाथि कानुनी कारबाही गर्न तथा सम्बन्धित कैदीबन्दीलाई अन्यत्र सरुवा नगर्न माग गरेका छन्। माग पूरा नभएसम्म अनसन नतोड्ने उनीहरूको अडान छ।

कारागार प्रमुख रूपक मण्डलका अनुसार गत शुक्रबार लागूऔषध मुद्दाका केही कैदीबन्दीले ‘बी’ ब्लकका चौकीदार रामरिझन यादवमाथि आक्रमण गरी घाइते बनाएका थिए। घटनामा संलग्नमाथि कारबाही प्रक्रिया अघि बढाइएको उनले बताए।

घाइते चौकीदार यादवको टाउकोमा चार टाँका लागेको छ भने स्वास्थ्य परीक्षणपछि चिकित्सकले केही दिन आराम गर्न सुझाव दिएका छन्।

घटनाको छानबिनका लागि सहायक प्रमुख जिल्ला अधिकारी नरेशकुमार यादवको संयोजकत्वमा समिति गठन गरिएको छ। समितिको प्रतिवेदनका आधारमा थप कारबाही अघि बढाइने कारागार प्रशासनले जनाएको छ।

भर्खरै

सम्बन्धित पोस्टहरुः