वीरगंज , साउन – ३
बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले वातावरणीय प्रदूषण गरेको ठहर गर्दै पथलैया–वीरगञ्ज औद्योगिक करिडोरका तीन उद्योगलाई कुल १० लाख रुपैयाँ जरिवाना गरेको छ।
पालिकाले हुलास स्टिल इन्डस्ट्रिजलाई ५ लाख तथा गणपति तेल उद्योग र नन्दन घ्यू तथा आयल इन्डस्ट्रिजलाई २ लाख ५० हजार रुपैयाँका दरले जरिवाना गरेको हो। औद्योगिक फोहोर, तेलजन्य पदार्थ र लेदो सार्वजनिक क्षेत्र तथा खोलामा मिसाई वातावरणीय मापदण्ड उल्लङ्घन गरेको पाइएपछि कारबाही गरिएको उपमहानगरले जनाएको छ।
उद्योगहरूलाई सात दिनभित्र जरिवाना बुझाउन, प्रदूषण नियन्त्रण गर्न, फोहोरको वैज्ञानिक व्यवस्थापन गर्न तथा सुधारात्मक कार्यको प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ। तोकिएको निर्देशन पालना नगरे थप कानुनी कारबाही गरिने चेतावनी पनि उपमहानगरले दिएको छ।
स्थानीयले उद्योगबाट निस्किएको प्रदूषित पानीका कारण खेतीपाती, सिँचाइ र जनस्वास्थ्यमा समस्या भइरहेको गुनासो गरेका छन्। भने उद्योगहरूले भने जरिवानाको आधार स्पष्ट नभएको भन्दै कानुनी उपचार वा अन्य विकल्पबारे निर्णय गर्ने बताएका छन्।







