वीरगंज , साउन ३ —
पर्सा जिल्ला अदालतले आर्थिक वर्ष २०८२/८३ मा कुल १२ हजार ३५० मुद्दामध्ये ७ हजार १२४ मुद्दा फर्छ्योट गर्दै ५७.६८ प्रतिशत प्रगति हासिल गरेको जनाएको छ। यो अघिल्लो आर्थिक वर्षको ५७.३ प्रतिशतभन्दा केही बढी हो।
वार्षिक प्रगति समीक्षा कार्यक्रममा प्रस्तुत प्रतिवेदनअनुसार हाल ५ हजार २२६ मुद्दा विचाराधीन छन्। तीमध्ये दुई वर्ष नाघेका २४० र १८ महिना नाघेका ३३१ मुद्दा रहेका छन्।
अदालतले अभिलेख व्यवस्थापन, फैसला लेखन, म्याद तामेली तथा पुराना मुद्दाको फर्छ्योटलाई प्राथमिकतामा राख्दै काम अघि बढाएको जनाएको छ। आर्थिक वर्षभर नेटवर्क अवरोध, कर्फ्यु, निर्वाचन तथा सार्वजनिक बिदाका कारण कार्यसम्पादनमा चुनौती आए पनि अघिल्लो वर्षभन्दा प्रगति सुधार भएको अदालतले जनाएको छ।
यसै अवसरमा आर्थिक वर्ष २०८२/८३ मा सबैभन्दा बढी मुद्दा फैसला गर्ने जिल्ला न्यायाधीश माधव घिमिरेलाई सम्मान गरिएको छ।







