वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु

1200x150_1200x150-01.jpg (1)

पर्सा, ४ साउनः वीरस्थित घण्टाघरबाट अलखियामठ खण्डमा बाँकी रहेका संरचना हटाउने काम सुरु भएको छ । सडक डिभिजन कार्यालय हेटौँडाले वीरगञ्ज महानगरपालिकाका मुख्य सडक घण्टाघर-अलखियामठ खण्ड विस्तार अभियानलाई पुनःप्राथमिकताका साथ सञ्चालन गर्ने गरी काम सुरु गरेको हो ।

डिभिजन कार्यालयले सूचना जारी गरी भनेको छ, “यस डिभिजनअन्तर्गत त्रिभुवन राजपथको सिरसिया मितरी पुलबाट बहुअरी गण्डक चोकसम्मको खण्डमा सडकको केन्द्ररेखाबाट दायाँ-बायाँ २५-२५ मिटर सीमा संरक्षण कार्य सुरु भइरहेको छ । त्यसैले उक्त क्षेत्रभित्र रहेका पसल वा अन्य संरचना तत्काल खाली गर्न, घरभित्र कोही नबस्न, घरभित्र रहेका सामान हटाउन अनुरोध गर्दछौँ ।”

कार्यालयले सूचनामार्फत होटल, लज र अतिथि गृहमा पाहुना नराख्न पनि सम्बन्धित सबैमा जानकारी गराएको छ । साथै सडक सीमाभित्र भत्किएका घरहरूबाट १५ दिनभित्र आफ्ना सरसामान हटाइ सडक सीमा संरक्षण कार्यमा सहयोग गर्न पनि डिभिजन कार्यालयको अनुरोध छ ।

वीरगञ्जको मुख्य सडक विस्तारका लागि सडक डिभिजन कार्यालयले गत वैशाख ६ गतेदेखि अभियानलाई सक्रिय रूपमा अघि बढाउँदै आएको थियो । पहिलो चरणमा मुख्य सडकको दायाँ-बायाँ २५-२५ मिटरभित्र पर्ने करिब एक हजार २०० संरचना अगाडिको भाग डोजर प्रयोग गरी हटाइएको थियो ।

अधिकांश घरधनीले संरचना नहटाएपछि सडक डिभिजन कार्यालयले गत असार २० गतेदेखि पुनः डोजर परिचालन गर्दै दोस्रो चरणको अभियान सुरु गरेको थियो । यस क्रममा गण्डकचोकबाट घण्टाघरसम्म तथा मितेरी पुलबाट अलखियामठसम्मका क्षेत्रमा सडक विस्तारको काम अघि बढाइएको कार्यालयले जनाएको छ । त्यसपछि गहवामाई चौथो रथयात्रालाई सहज रूपमा सम्पन्न गराउन अभियान केही दिनका लागि स्थगित गरिएको थियो ।

सम्बन्धित पोस्टहरुः