पर्सा प्रहरीले करिब २० केजी ६७७ ग्राम लागूऔषध गाँजासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार मंगलबार बिहान ११:३० बजे जगरनाथपुर गाउँपालिका–४ सुहपुर हुलाकी सडकखण्डमा इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक समुन्नत अधिकारीको कमान्डमा खटिएको प्रहरी टोलीले भारत तर्फ जाँदै गरेको BR06BH 5496 नम्बरको भारतीय कारलाई शङ्काको आधारमा रोकी जाँच गरेको थियो।
जाँचका क्रममा कारको पछाडिको सिटमुनि लुकाइछिपाइ राखिएको प्लास्टिकमा प्याक गरिएको २० केजी ६७७ ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ। उक्त गाँजासहित कार चालक भारत, बिहार राज्य, सितामढी जिल्ला, ग्राम पञ्चायत तालका डुम्रा वडा नं. ३३ बस्ने ३३ वर्षीय रहमत अन्सारीलाई नियन्त्रणमा लिइएको हो।
प्रहरीले गाँजा, कार तथा पक्राउ परेका व्यक्तिमाथि लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाएको जनाएको छ। �
8 hours ago|






