वीरगंज , साउन ६ –
प्रतिनिधिसभामा प्रधानमन्त्री बालेन शाहदेखि पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत शीर्ष नेताहरूको उपस्थिति न्यून देखिएको छ। संघीय संसद् सचिवालयका अनुसार हालसम्म बसेका ४१ वटा प्रतिनिधिसभा बैठकमध्ये प्रधानमन्त्री बालेन ६ वटा र प्रचण्ड केवल ५ वटा बैठकमा मात्र सहभागी भएका छन्।
संसद्को दोस्रो ठूलो दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बे ३५ बैठकमा उपस्थित हुँदा नेकपा एमालेका नेता रामबहादुर थापा ‘बादल’ २४ बैठकमा मात्र सहभागी भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने २१, श्रम संस्कृति पार्टीका हर्क साम्पाङ र राप्रपाका ज्ञानेन्द्र शाही २५/२५ बैठकमा उपस्थित रहेका छन्।
मन्त्रीहरूको उपस्थिति पनि सन्तोषजनक छैन। ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठ ७, शिक्षामन्त्री सस्मित पोखरेल ८ तथा परराष्ट्रमन्त्री शिशिर खनाल ९ बैठकमा मात्रै सहभागी भएका छन्। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम २३ तथा गृहमन्त्री सुधन गुरुङ २४ बैठकमा उपस्थित भएका छन्।
संसदीय नियमावलीअनुसार प्रधानमन्त्रीसँग प्रत्येक महिना प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुनुपर्ने व्यवस्था भए पनि चालु अधिवेशनमा नियमित रूपमा कार्यान्वयन हुन सकेको छैन। सांसदहरूले उठाएका प्रश्नको सात दिनभित्र सम्बन्धित मन्त्रीले जवाफ दिनुपर्ने व्यवस्था पनि प्रभावकारी रूपमा कार्यान्वयन नभएको गुनासो उठ्दै आएको छ।
संसदीय अध्येता तथा पूर्वसांसदहरूले संसद् जनताको सर्वोच्च थलो भएकाले प्रधानमन्त्री, मन्त्री र शीर्ष नेताको नियमित उपस्थिति लोकतान्त्रिक उत्तरदायित्वको आधार भएको बताएका छन्। उनीहरूले संसद्लाई बेवास्ता गर्ने प्रवृत्तिले संसदीय प्रणालीप्रतिको विश्वास कमजोर बनाउने र जनप्रतिनिधिको जवाफदेहितामाथि प्रश्न उठ्ने चेतावनी दिएका छन्।






