वीरगंज, साउन ७
जीतपुरसिमरा उपमहानगरपालिकाले इँटा, काठ, पिना, कोइला र क्लिङ्करमा ठेक्का प्रणालीमार्फत कर असुल गरिरहेको भन्दै उद्योगी–व्यवसायीहरूले उक्त कर गैरकानूनी भएको दाबी गरेका छन्। उनीहरूले कानूनविपरीत उठाइएको कर फिर्ता गर्न र ती वस्तुलाई स्थानीय करको सूचीबाट हटाउन माग गर्दै उपमहानगरपालिकामा ज्ञापनपत्र बुझाएका हुन्।
वीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिप्रसाद गौतमद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा जडीबुटी, कबाडी तथा जीवजन्तु करको ठेक्काको दुरुपयोग गर्दै कर नलाग्ने वस्तुमा समेत कर उठाइएको आरोप लगाइएको छ।
उद्योगी–व्यवसायीका अनुसार स्थानीय तहले संविधान र प्रचलित कानूनले दिएको अधिकारभित्र रहेर मात्रै कर असुल गर्न पाउँछ। तर इँटा, काठ, कोइला र क्लिङ्करजस्ता उत्पादन तथा कच्चा पदार्थमा स्थानीय कर लगाउनु कानूनी व्यवस्थाविपरीत भएको उनीहरूको दाबी छ।
उनीहरूले यस्तो करका कारण उत्पादन लागत बढ्नुका साथै औद्योगिक प्रतिस्पर्धात्मक क्षमता कमजोर हुने र उद्योग व्यवसाय थप मारमा पर्ने बताएका छन्। साथै, नियमविपरीत असुल गरिएको कर फिर्ता गर्न, भविष्यमा यस्ता कर नउठाउने व्यवस्था गर्न तथा कर प्रणाली कानूनसम्मत बनाउन सम्बन्धित निकायसँग माग गरेका छन्।
उक्त ज्ञापनपत्रको बोधार्थ सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, अर्थ मन्त्रालय, जिल्ला प्रशासन कार्यालय पर्सा र बारा लगायतका निकायमा समेत पठाइएको वीरगंज उद्योग वाणिज्य सङ्घले जनाएको छ।






