वीरगंज, साउन ७
त्रिभुवन विश्वविद्यालयको ६७औँ वार्षिकोत्सव (त्रिवि दिवस) को अवसरमा पर्सा निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य सुशील साह कानु र क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य रामाकान्त चौरसियाले वीरगंज–४ बिर्तास्थित वीरगंज नर्सिङ क्याम्पसको अनुगमन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेका छन्।
कार्यक्रममा क्याम्पसका पहिलो ब्याचका विद्यार्थीसमेत रहेका वरिष्ठ चिकित्सक डा. आर.पी. खेतानले करिब पाँच दशकको इतिहास बोकेको क्याम्पसले हालसम्म आफ्नै शिक्षण अस्पताल स्थापना गर्न नसक्नु दुःखद भएको बताए। उनले नर्सिङ शिक्षा क्षेत्रमा ऐतिहासिक योगदान दिएको संस्थाले आवश्यक पूर्वाधारको अभावमा अपेक्षित विकास गर्न नसकेको उल्लेख गरे।
सांसदद्वयले क्याम्पसको पूर्वाधार विकास, बजेट व्यवस्थापन तथा शिक्षण अस्पताल निर्माणका लागि संघीय सरकारसमक्ष आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे। अनुगमनका क्रममा उनीहरूले क्याम्पसका भवन तथा शैक्षिक संरचनाको अवलोकन गर्दै जीर्ण अवस्थाप्रति चिन्ता व्यक्त गरेका थिए।
क्याम्पस प्रमुख कल्पना पौडेलले करिब सात बिघा क्षेत्रफलमा फैलिएको क्याम्पसका अधिकांश भवन जीर्ण बन्दै गएको र बजेट अभावका कारण मर्मत तथा पूर्वाधार विस्तार प्रभावित भएको जानकारी दिँदै ऐतिहासिक क्याम्पसको संरक्षण र आधुनिकीकरणमा सरकारको विशेष ध्यान आवश्यक रहेको बताइन्।
कार्यक्रममा शिक्षाविद् तथा सामाजिक अभियन्ता मार्टिन मोक्तान, वीरगंज युवा समाजका अमित गुप्ता, सञ्चारकर्मी मुकेश सिंह, क्याम्पसका शिक्षक, कर्मचारी तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो।






