नयाँदिल्ली, साउन ८
भारतमा मेडिकल प्रवेश परीक्षा (नीट) को प्रश्नपत्र चुहावट प्रकरणविरुद्ध विद्यार्थी आन्दोलन जारी रहेको छ। शिक्षा प्रणाली सुधार, दोषीमाथि कारबाही र शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै विद्यार्थीहरू नयाँदिल्लीको जंतर–मंतरमा प्रदर्शन गरिरहेका छन्।
आन्दोलनलाई समर्थन गर्दै २६ दिनदेखि आमरण अनशनमा बसेका सामाजिक अभियन्ता सोनम वाङचुकले बुधबार आफ्नो अनशन तोडेका छन्। बीबीसी हिन्दीका अनुसार केन्द्रीय मन्त्री जेपी नड्डा, डा. जितेन्द्र सिंह तथा लद्दाख एपेक्स बडीका प्रतिनिधिको उपस्थितिमा उनले अनशन अन्त्य गरेका हुन्।
वाङचुकले देशमा सम्भावित हिंसा रोक्न अनशन अन्त्य गरेको बताउँदै आन्दोलनकारीलाई शान्तिपूर्ण आन्दोलन जारी राख्न आग्रह गरेका छन्।
यता कक्रोच जनता पार्टी (सीजेपी) ले आन्दोलनलाई देशव्यापी बनाउने घोषणा गरेको छ भने कांग्रेस, आम आदमी पार्टीलगायत विपक्षी दलहरूले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग दोहोर्याएका छन्।
यसैबीच प्रधानमन्त्री नरेन्द्र मोदीले प्रश्नपत्र चुहावटमा संलग्नलाई छिटो कारबाही गर्न ‘फास्ट ट्र्याक’ अदालत गठन गर्ने घोषणा गरेका छन्। विपक्षी दलहरूले भने यो घोषणा आन्दोलनबाट जनध्यान मोड्ने प्रयास मात्र भएको आरोप लगाएका छन्।






