वासिङ्टन, साउन ८
अमेरिकाले जबरजस्ती श्रम प्रयोग गरी उत्पादन गरिएका वस्तुको आयात नियन्त्रण गर्न भन्दै विश्वका झण्डै ६० प्रमुख व्यापार साझेदारमाथि नयाँ भन्सार शुल्क लागू गरेको छ।
आजदेखि लागू भएको व्यवस्थाअनुसार सम्बन्धित देशका वस्तुमा १० देखि १२.५ प्रतिशतसम्म अतिरिक्त भन्सार शुल्क लाग्नेछ। यसबाट बेलायत, चीन, युरोपेली संघ, क्यानडा, जापान, भारतलगायतका प्रमुख व्यापार साझेदार प्रभावित हुनेछन्।
राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्यकाल सुरु भएयता अमेरिकी उद्योग संरक्षण, उत्पादन वृद्धि र रोजगारी सिर्जनालाई प्राथमिकता दिँदै ट्यारिफ नीतिलाई आक्रामक रूपमा अघि बढाइरहेका छन्।
अमेरिकी प्रशासनले थप १६ देशमाथि पनि अनुसन्धान गरिरहेको जनाएको छ। बीबीसीका अनुसार अनुसन्धानपछि ती देशमाथि पनि यसै वर्ष थप भन्सार शुल्क लगाइने सम्भावना रहेको छ।







