वीरगञ्ज, ८ साउन – रोटरी क्लब अफ वीरगञ्ज मेट्रोपोलिसको वर्ष २०२६–२७ को पद हस्तान्तरण तथा पदभार ग्रहण कार्यक्रम शुक्रबार आदर्शनगरस्थित पुजन होटलमा भव्य रूपमा सम्पन्न भएको छ। क्लबका अध्यक्ष राजकिशोर प्रसादको अध्यक्षता तथा एन्डीडीजी अमित गिरीको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा वरिष्ठ पत्रकार जगदिश शर्मा, पर्साका प्रहरी प्रमुख एसपी सुदीप राज पाठक, पूर्व डीजी सञ्जय गिरी, समाजसेवी पृथ्वीराज भण्डारीलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा वर्ष २०२५–२६ का निवर्तमान अध्यक्ष सञ्जय जोशीले नव-निर्वाचित अध्यक्ष राजकिशोर प्रसादलाई औपचारिक रूपमा पदभार सुम्पनुभयो। नवनिर्वाचित अध्यक्ष प्रसादले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र मानवीय सेवालाई प्राथमिकता दिने प्रतिबद्धਤਾ जनाउँदै नयाँ कार्यसमिति गठन गर्नुभएको छ। जसमा प्रेसिडेन्ट इलेक्टमा चन्दन सिंह, उपाध्यक्षमा हरिओम साह, सचिवमा सौरभ बर्णवाल र कोषाध्यक्षमा चंचला दाससहितका पदाधिकारीहरू चयन भएका छन्। साथै, उत्कृष्ट कार्य गरेकोमा निवर्तमान अध्यक्ष जोशीलाई ‘टोकन अफ लभ’ प्रदान गरिनुका साथै ३० भन्दा बढी समाजसेवी तथा रोटरीयनहरूलाई सम्मान गरिएको थियो।






