विराटनगर, साउन ९
पूर्वी नेपालमा गुणस्तरीय र भरपर्दो विद्युत आपूर्ति सुनिश्चित गर्न नेपाल विद्युत प्राधिकरणको उच्च नेतृत्वले मोरङ र सुनसरीका विद्युत पूर्वाधार तथा वितरण प्रणालीको स्थलगत अनुगमन थालेको छ।
विराटनगरलगायत क्षेत्रमा पटक–पटक विद्युत अवरुद्ध हुने गुनासो बढेपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठको निर्देशनमा प्राधिकरणका कामु कार्यकारी निर्देशक दीर्घायूकुमार श्रेष्ठ नेतृत्वको टोली अनुगमनमा पुगेको हो।
टोलीले प्रादेशिक कार्यालयका प्रमुख तथा वितरण शाखा प्रमुखहरूसँग विद्युत आपूर्तिको अवस्था, समस्या र समाधानका उपायबारे छलफल गरेको छ। साथै दुहबी र बर्जुस्थित सबस्टेसन तथा ट्रान्सफर्मर मर्मत कार्यशालाको निरीक्षण गर्दै निर्माण तथा मर्मत कार्यलाई तीव्र बनाउन निर्देशन दिएको छ।
प्राधिकरणले बर्जुस्थित १३२ केभी सबस्टेसन तीन महिनाभित्र र मोरङको केरङ सबस्टेसन एक महिनाभित्र सम्पन्न गर्ने लक्ष्यसहित काम अघि बढाउन निर्देशन दिएको जनाएको छ। पूर्वी क्षेत्रमा विद्युत सेवा थप भरपर्दो र प्रभावकारी बनाउन अनुगमन तथा समन्वयलाई निरन्तरता दिइने प्राधिकरणले जनाएको छ।






