धर्मेन्द्र प्रधानको राजीनामालाई सीजेपीले भन्यो– ‘विद्यार्थी आन्दोलनको जित’

1200x150_1200x150-01.jpg (1)

नयाँ दिल्ली, साउन ९

भारतीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा दिएपछि ककरोच जनता पार्टी (सीजेपी) ले यसलाई विद्यार्थी आन्दोलनको ऐतिहासिक जितका रूपमा व्याख्या गरेको छ। पार्टीले सामाजिक सञ्जाल एक्समार्फत ‘विद्यार्थी शक्ति अमर रहोस्’ लेख्दै आन्दोलन सफल भएको प्रतिक्रिया दिएको हो।

नीट–यूजी प्रश्नपत्र चुहावट र परीक्षामा देखिएको अनियमितताको विरोधमा दिल्लीको जन्तर–मन्तरमा हप्तौँदेखि विद्यार्थी आन्दोलन चलिरहेको थियो। आन्दोलनकारीले धर्मेन्द्र प्रधानको राजीनामालाई प्रमुख माग बनाएका थिए।

राजीनामापछि आन्दोलनस्थलमा विद्यार्थीहरूले खुसी मनाएको भिडियो सार्वजनिक भएको छ। यता, धर्मेन्द्र प्रधानले युवालाई सम्बोधन गर्दै नैतिक जिम्मेवारीका आधारमा पद त्यागेको बताएका छन्।

उनले सरकारले अनियमितता सार्वजनिक हुनासाथ सीबीआईमार्फत अनुसन्धान गराएको, परीक्षा रद्द गरी पुनः परीक्षा सञ्चालन गरेको र सम्पूर्ण प्रक्रिया निष्पक्ष रूपमा सम्पन्न गरिएको दाबी गरेका छन्। पछिल्ला घटनाले आफूलाई दुःखी बनाएको उल्लेख गर्दै उनले विद्यार्थीको भविष्य कानुनी तथा राजनीतिक विवादमा नपरोस् भन्ने उद्देश्यले राजीनामा दिएको बताएका छन्।

प्रधानले देशको एकता, विद्यार्थीको भविष्य र शैक्षिक वातावरणलाई प्राथमिकतामा राखेर निर्णय गरेको उल्लेख गरेका छन्। आन्दोलन भने शैक्षिक सुधार र परीक्षा प्रणालीमा थप पारदर्शिताको मागसहित अझै जारी रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

सम्बन्धित पोस्टहरुः