वीरगंज, ९ साउन
सुस्मिता देवी ५ए साइड नकआउट फुटसल प्रतियोगिता शनिवार वीरगंज–१६ नगवास्थित फुटसल मैदानमा सम्पन्न भएको छ।
वीरगंज युथ एकेडेमी, लालीगुराँस क्लब, सिवाईसी १६ ब्वाइज, एफसी सिमरा, हाम्रो एफसी ‘ए’, हाम्रो एफसी ‘बी’, आरम्भ एफसी, बैंकर्स एफसी, सिमरा ब्वाइज तथा ज्ञान्दा एकेडेमीलगायत विभिन्न टोलीहरूको सहभागीता रहेको प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै लालीगुराँस क्लब च्याम्पियन बन्न सफल भयो भने एफसी सिमरा उपविजेतामा सीमित रह्यो।
व्यक्तिगत विधातर्फ लालीगुराँस क्लबका विवस श्रेष्ठ उत्कृष्ट गोलकिपर घोषित भए। त्यसैगरी सिसास थापा प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित हुँदा सुजल डंगोल सर्वाधिक गोलकर्ता बने।
प्रतियोगिताको उदघाटन समाजसेवी प्रकाश उपाध्यायले गरेका थिए। समापन समारोहमा फुटबल प्रशिक्षक ऋतु शाक्य तथा दिपेन्द्र ताम्राकारले विजेता तथा उपविजेता टोलीलाई शिल्ड, मेडल तथा नगद पुरस्कार प्रदान गरेका थिए।
कार्यक्रमको अवलोकन गर्न विशिष्ट अतिथिका रूपमा मधेश प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउत तथा वीरगंज महानगरपालिका–१६ का वडा अध्यक्ष परशुराम चौरसिया लगायतको गरिमामय उपस्थिति रहेको थियो।
कार्यक्रमको सञ्चालन समाजसेवी सुभाष सिंहले गरेका थिए। आयोजकका अनुसार युवाहरूमा खेलकुदप्रति आकर्षण बढाउने, अनुशासन, आपसी सद्भाव तथा स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको हो।






