रौतहट, ८ साउन । रौतहट निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य गणेश पौडेलमाथि कालो मसी प्रहार गरी दुव्र्यवहार गरिएको छ। गढीमाई नगरपालिका–७, पर्सामा आयोजित ‘जनतासँग भेटघाट’ कार्यक्रम सम्पन्न गरेर फर्किने क्रममा बिहीवार राति उहाँमाथि उक्त घटना भएको हो।
सांसद् पौडेलका अनुसार कार्यक्रम सकेर फर्किरहेका बेला मास्क लगाएका दुर्ई–तीन जना व्यक्तिले पछाडिबाट आएर परिचितजस्तै गरी अँगालो हाल्ने बहानामा उहाँको पिठ्युँमा कालो मसीजस्तो पदार्थ खन्याएर फरार भएका थिए।
उहाँले भन्नुभयो, “हामी भेटघाट कार्यक्रम सकेर फर्किरहेका थियौँ। पछाडिबाट आएका व्यक्तिहरू नजिक आएर परिचितजस्तै व्यवहार गर्दै पिठ्युँमा कालो मसीजस्तो पदार्थ खन्याएर भागे।”
सांसद् पौडेलका अनुसार मसी प्रहार गर्ने समूहले हातमा रातो झण्डा र पर्चा बोकेको थियो। आफूलाई ‘मधेशी मुक्ति अभियान’का कार्यकर्ता बताउँदै उनीहरूले ‘मेचीदेखि महाकालीसम्मको भूभाग मधेशको हो’ भन्ने नारा लगाएका थिए।
स्थानीय नागरिकका समस्या तथा मलखाद अभावलगायत विषयमा छलफल गर्न आयोजित कार्यक्रम सकेर चन्द्रनिगाहपुर फर्किने क्रममा राति करिब ८ः१५ बजे घटना भएको हो। घटनापछि कार्यक्रममा सहभागी स्थानीयवासी र सहयोगीहरूले उनीहरूलाई पछ्याउने प्रयास गरेका थिए। तर अँध्यारोको फाइदा उठाउँदै उनीहरू नजिकैको उखुवारीतर्पm भाग्न सफल भएको राष्ट्रिय स्वतन्त्र पार्टीका सदस्य जनकराज भारतीले जानकारी दिनुभयो।
घटनालगत्तै प्रहरीलाई खबर गरिएको र संलग्न व्यक्तिहरूको खोजी तीव्र पारिएको छ। सांसद् पौडेलका अनुसार प्रहरीको प्रारम्भिक अनुसन्धानबाट घटनामा संलग्न मुख्य व्यक्तिको पहिचान भइसकेको छ। ‘फगु’ भनिने एक व्यक्तिको पहिचान भए पनि अहिलेसम्म कोही पक्राउ परेका छैनन।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक बसन्त गौतमले घटनामा संलग्न व्यक्तिहरूको खोजी तीव्र पारिएको र उनीहरूलाई छिट्टै पक्राउ गरिने बताउनुभयो।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले रौतहट निर्वाचन क्षेत्र नं ४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य गणेश पौडेलमाथि कालो मसी प्रहार गरी भएको दुव्र्यवहारको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
दलका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीद्वारा आज जारी विज्ञप्तिमा यही साउन ७ गते जनतासँगको भेटघाट कार्यक्रम सम्पन्न गरी फर्कने क्रममा सांसद पौडेलमाथि भएको उक्त घटनाको घोर भत्र्सना गरिएको छ ।
विज्ञप्तिमा लोकतान्त्रिक व्यवस्थामा असहमति र विरोध व्यक्त गर्ने अधिकार सुरक्षित रहे पनि जनप्रतिनिधिमाथि हुने हिंसा, दुव्र्यवहार वा अपमानजनक व्यवहार कुनै पनि लोकतान्त्रिक समाजमा स्वीकार्य हुन नसक्ने उल्लेख गरिएको छ । यस्ता गतिविधिले विधिको शासन, लोकतान्त्रिक संस्कार तथा शान्तिपूर्ण र सुसंस्कृत राजनीतिक अभ्यासमाथि प्रहार गर्ने रास्वपाको धारणा छ ।
रास्वपाले घटनाको निष्पक्ष अनुसन्धान गरी संलग्न व्यक्तिमाथि कानुनबमोजिम कडा कारबाही गर्न, घटनाको सत्यतथ्य सार्वजनिक गर्न तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिने गरी जनप्रतिनिधिहरूको सुरक्षा सुनिश्चित गर्न नेपाल सरकार र सम्बन्धीत निकायसँग माग गरेको छ ।
संसदीय दलले लोकतान्त्रिक मूल्य, विधिको शासन, अहिंसात्मक राजनीतिक अभ्यास तथा सभ्य समाज निर्माणप्रति आफू सदैव प्रतिबद्ध रहने पनि स्पष्ट पारेको छ ।







