नारायणी अस्पतालका डाक्टरमाथी आक्रमण गर्नेलाई कडा कारबाहीको माग

1200x150_1200x150-01.jpg (1)

वीरगंज : साउन १०

वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि उपचारका क्रममा भएको सांघातिक आक्रमणप्रति नेपाल चिकित्सक संघ (एनएमए) ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। संघले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै घटनाको भर्त्सना गर्दै दोषीमाथि तत्काल कानुनी कारबाही गर्न सरकारसँग माग गरेको हो।

संघका अनुसार बिरामीको उपचारमा संलग्न चिकित्सक टोलीले आवश्यक उपचार गरिरहेकै अवस्थामा आकस्मिक कक्षमा प्रवेश गरी चिकित्सकमाथि सांघातिक आक्रमण गरिएको थियो। घटनामा मेडिकल अफिसर डा. प्रमोद राममाथि करिब ४०–५० जनाको समूहले ज्यान मार्ने उद्देश्यले आक्रमण गरेको भन्दै संघले त्यसको कडा निन्दा गरेको छ।

नेपाल चिकित्सक संघले यस्ता घटनाले चिकित्सक तथा स्वास्थ्यकर्मीको पेशागत सुरक्षासँगै स्वास्थ्य सेवा प्रवाहमै गम्भीर असर परेको जनाएको छ। स्वास्थ्य संस्थाजस्तो संवेदनशील क्षेत्रमा भएको आक्रमणमा संलग्न सबै दोषीलाई तत्काल कानुनी दायरामा ल्याई ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन, २०७९)’ बमोजिम कडा कारबाही गर्न सरकारसँग माग गरेको छ।

संघले आक्रमणपछि अस्पताल प्रशासनले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई निलम्बन गरेकोप्रति पनि गम्भीर आपत्ति जनाएको छ। सेवामा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथिको निलम्बन तत्काल फिर्ता गरी सुरक्षित वातावरणमा काम गर्ने व्यवस्था मिलाउनुपर्ने माग संघले गरेको छ।

नेपाल चिकित्सक संघले घटनामा संलग्न दोषीमाथि अविलम्ब कानुनी कारबाही नभए आन्दोलनका कार्यक्रमसहित कडा कदम चाल्न बाध्य हुने चेतावनीसमेत दिएको छ।

सम्बन्धित पोस्टहरुः