वीरगंज, १० साउन ।
सामाजिक उत्तरदायित्वअन्तर्गत रोट्रयाक्ट क्लब अफ वीरगंज मेट्रोपोलिसले पर्साको श्री दलित आधारभूत विद्यालय, महुवनलाई ७ थान पंखा सहयोग प्रदान गरेको छ। विद्यालयमा अत्यधिक गर्मी तथा आधारभूत पूर्वाधारको अभावका कारण विद्यार्थीहरूको पठनपाठनमा सहजता ल्याउने उद्देश्यले उक्त सहयोग गरिएको क्लबले जनाएको छ।
रोट्रयाक्ट क्लब अफ वीरगंज मेट्रोपोलिसका अध्यक्ष रामबिनय यादवको अध्यक्षतामा सम्पन्न सहयोग हस्तान्तरण कार्यक्रममा विद्यालयका शिक्षक, स्थानीयवासी तथा क्लबका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा क्लबका अध्यक्ष रामबिनय यादव, आलोक यादव, आर्यन गुप्ता तथा मनीष सर्राफको सक्रिय सहभागीता रहेको थियो। उनीहरूले विद्यालयका विद्यार्थीहरूलाई सहज र अनुकूल शैक्षिक वातावरण उपलब्ध गराउने उद्देश्यले सामाजिक सेवामूलक अभियानलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरे।
यस सहयोग कार्यक्रम सफल बनाउन आवश्यक ७ थान पंखाको व्यवस्थापनमा विशेष सहयोग पु¥याउनुहुने प्रकाश कर्ण तथा सहयोग गर्ने अन्य दाताप्रति रोट्र्याक्ट क्लब अफ वीरगंज मेट्रोपोलिसले हार्दिक आभार व्यक्त गरेको छ।
कार्यक्रममा बोल्दै अध्यक्ष रामबिनय यादवले शिक्षा क्षेत्रमा साना–साना सहयोगले पनि ठूलो परिवर्तन ल्याउन सक्ने उल्लेख गर्दै आगामी दिनमा पनि विद्यालय, विद्यार्थी तथा समुदायको हितमा यस्ता सामाजिक सेवामूलक कार्यक्रमलाई निरन्तर सञ्चालन गरिने बताउनुभयो।
विद्यालय परिवारले रोट्र्याक्ट क्लब अफ वीरगंज मेट्रोपोलिस तथा सहयोगी दाताप्रति धन्यवाद व्यक्त गर्दै प्राप्त पंखाले विद्यार्थीहरूको अध्ययन–अध्यापनका लागि सहज वातावरण सिर्जना हुने विश्वास व्यक्त गरेको छ।






