पर्सा , साउन १०
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले युक्रेनविरुद्धको युद्धका लागि उत्तर कोरियाबाट थप ३० हजार सैनिक तथा क्षेप्यास्त्र प्रहारक (मिसाइल लन्चर) मागेको दाबी गरेका छन्।
सामाजिक सञ्जालमार्फत उनले युक्रेनसँगको सीमा नजिक रुसको भोरोनेज क्षेत्रमा थप सैनिक परिचालनको तयारी भइरहेको बताएका हुन्।
समाचार संस्था एएफपीका अनुसार सन् २०२४ मा कुर्स्क क्षेत्रमा युक्रेनको प्रत्याक्रमण रोक्न उत्तर कोरियाले रुसलाई हजारौँ सैनिक पठाएको थियो। साथै सन् २०२२ देखि उसले रुसलाई विभिन्न हतियारसमेत उपलब्ध गराउँदै आएको छ।
दक्षिण कोरियाका अनुसार यस युद्धमा हालसम्म करिब दुई हजार उत्तर कोरियाली सैनिक मारिएका छन्।
जेलेन्स्कीले रुसले उत्तर कोरियालाई आधुनिक युद्धको अनुभव, हतियारको प्रयोग र सैन्य प्रविधिमा सुधार गर्न सहयोग गरिरहेको दाबी गर्दै यसले युक्रेन मात्र होइन, उत्तर कोरियाली क्षेप्यास्त्रको पहुँचभित्र रहेका एशियाली देशहरूको सुरक्षामा समेत खतरा बढाउने बताएका छन्।
सन् २०२४ मा रुस र उत्तर कोरियाबीच सैन्य सहयोगसम्बन्धी सम्झौता भएको थियो। यसै साता मस्को भ्रमणका क्रममा उत्तर कोरियाली विदेशमन्त्री चो सोन हुईले पनि युक्रेन युद्धमा रुसलाई आफ्नो समर्थन पुनः दोहोर्याएकी थिइन्।
सैन्य सहयोगको बदलामा उत्तर कोरियाले नगद, सैन्य प्रविधि, खाद्यान्न तथा ऊर्जा सामग्री प्राप्त गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।





