पर्सा , साउन ९
नेपाल विद्युत् प्राधिकरणले आर्थिक ऐन, २०८३ अनुसार असार १ गतेदेखि ३२ गतेसम्मको विद्युत् खपतमा मूल्य अभिवृद्धि कर (भ्याट) लाग्ने वा नलाग्ने विषयमा आन्तरिक राजश्व विभागसँग स्पष्ट राय मागेको छ।
प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले विभागलाई पत्राचार गर्दै मासिक विद्युत् खपतको रिडिङका आधारमा बिलिङ हुने भएकाले असार महिनाको खपतको बिल साउन १ गतेपछि जारी हुँदा भ्याट लाग्ने वा नलाग्ने विषयमा स्पष्ट पार्न अनुरोध गरेका छन्।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले पनि भ्याटसम्बन्धी अन्योल हटाउन कानुनी तथा व्यावहारिक पक्ष स्पष्ट गरी उपभोक्तालाई अन्याय नहुने गरी समाधान खोज्न प्राधिकरणलाई निर्देशन दिएका छन्।
सरकारले साउनदेखि ५० युनिटभन्दा बढी विद्युत् उपभोग गर्ने उपभोक्ताको महसुलमा ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लागू गर्ने नीति लिएको छ।
तर असार महिनाकै विद्युत् खपतको बिलमा समेत नयाँ कर समावेश गरिएको भन्दै उपभोक्ताहरूले असन्तुष्टि जनाएका छन्।
मन्त्री श्रेष्ठले कर कार्यान्वयनका क्रममा उपभोक्तामाथि अनावश्यक आर्थिक भार पर्न नहुनेमा जोड दिँदै देखिएको अन्योल तत्काल समाधान गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।





