सुनसरीको देवानगञ्जमा कर्फ्यु आदेश जारी

1200x150_1200x150-01.jpg (1)

सुनसरी, साउन १०

सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समुदायबीच भएको झडपपछि स्थानीय प्रशासनले सोमबार बिहान ७ बजेदेखि कर्फ्यु आदेश जारी गरेको छ।

आइतबार राति भएको झडपमा देवानगञ्ज–३ का ३० वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको छ भने सुरक्षाकर्मीसहित २४ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार साउने सोमबारका अवसरमा हिन्दु समुदायका युवाहरू कोशी नदीमा जल चढाउन डिजे बाजासहित जाँदै गर्दा चर्को आवाजमा बाजा बजाएको विषयमा विवाद भएपछि झडप सुरु भएको थियो। विवाद बढ्दै जाँदा दुवै पक्षबीच ढुंगामुढा र आक्रमणको अवस्था सिर्जना भएको प्रहरीले जनाएको छ।
स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरिएको थियो। स्थानीयका अनुसार प्रहरीले केही राउन्ड गोलीसमेत चलाएको थियो।

घाइतेमध्ये नेपाल प्रहरीका प्रहरी निरीक्षक राकेश राईसहित १० जना नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका ५ जना र ९ जना सर्वसाधारण रहेका छन्। उनीहरूको विराटनगर तथा सुनसरीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। प्रहरी निरीक्षक राईको टाउकोमा चोट लागेको र पाँच वटा टाँका लगाइएको प्रहरीले जनाएको छ।

घटनापछि सुरक्षा व्यवस्था कडा पारिएको छ। सोमबार बिहान ७ बजेदेखि लागू भएको कर्फ्यु अवधिमा हिँडडुल, भेला, जुलुस तथा सभा–समारोह गर्न निषेध गरिएको छ। प्रहरीले हाल अवस्था नियन्त्रणमा रहेको र शान्ति–सुरक्षा कायम राख्न थप सुरक्षा सतर्कता अपनाइएको जनाएको छ।

सम्बन्धित पोस्टहरुः