नारायणी अस्पताल घटनामा स्वास्थ्यमन्त्रीको दुःख व्यक्त, स्वास्थ्यकर्मीमाथिको आक्रमण अस्वीकार्य

1200x150_1200x150-01.jpg (1)

पर्सा, साउन १०

स्वास्थ्य तथा जनसंख्यामन्त्री निसा मेहताले नारायणी अस्पताल, वीरगञ्जमा उपचारका क्रममा बिरामीको निधन भएको घटनाप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेकी छन्।
मन्त्री मेहताले घटनापछि अस्पतालको आकस्मिक कक्षमा भएको तोडफोड तथा उपचारमा संलग्न स्वास्थ्यकर्मीमाथि भएको आक्रमणलाई गम्भीर रूपमा लिँदै अस्पतालजस्तो संवेदनशील स्थानमा हुने कुनै पनि प्रकारको हिंसा स्वीकार्य नहुने बताएकी छन्।

उनले गृहमन्त्री, नेपाल प्रहरी, जिल्ला प्रशासन, नारायणी अस्पताल र नेपाल मेडिकल एसोसिएसनसँग समन्वय गर्दै आवश्यक पहल अघि बढाइएको जानकारी दिँदै घटनामा संलग्न एक जना पक्राउ परिसकेको र थप अनुसन्धान तथा कानुनी प्रक्रिया जारी रहेको बताइन्।

घटनामा गम्भीर घाइते भएका मेडिकल अफिसर डा. प्रमोद रामको उपचारमा कुनै कमी हुन नदिइने र उपचारको सम्पूर्ण व्यवस्था सरकारले मिलाएको मन्त्री मेहताले जानकारी दिइन्। साथै घटनाको सत्यतथ्य बुझ्न तथा स्वास्थ्य सेवा सहज बनाउन मन्त्रालयको प्रतिनिधि टोली वीरगञ्ज पठाइएको उनले बताइन्।

मन्त्री मेहताले स्वास्थ्यकर्मीमाथिको आक्रमण सम्पूर्ण स्वास्थ्य प्रणाली र नागरिकको उपचार पाउने अधिकारमाथिको आघात भएको उल्लेख गर्दै सरकारले स्वास्थ्य संस्थाभित्र हुने हिंसाप्रति शून्य सहनशीलताको नीति अपनाएको स्पष्ट पारिन्।

उनले नारायणी अस्पतालमा स्वास्थ्य सेवा निर्बाध सञ्चालनका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाइएको र चिकित्सक, स्वास्थ्यकर्मी तथा सेवाग्राहीका लागि सुरक्षित वातावरण सुनिश्चित गर्न मन्त्रालय सुरक्षा निकायसँग निरन्तर समन्वयमा रहेको बताइन्। साथै स्वास्थ्य संस्थाको सुरक्षा सुदृढ गर्न र आवश्यक कानुनी सुधार अघि बढाउने प्रक्रिया पनि सुरु गरिएको जानकारी दिँदै सबै पक्षलाई संयम, सहयोग र सहकार्यका लागि अपिल गरेकी छन्।

सम्बन्धित पोस्टहरुः