नारायणी अस्पतालको घटनाले झस्किएको वीरगंज

1200x150_1200x150-01.jpg (1)

वीरगंज , साउन ११

वीरगंजस्थित नारायणी अस्पतालमा उपचारका क्रममा बिरामीको मृत्यु भएपछि उत्पन्न भएको हिंसात्मक घटनाले सम्पूर्ण वीरगंजलाई झस्काएको छ । अस्पतालमा भएको तोडफोड, चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको सांघातिक आक्रमण र स्वास्थ्य सेवा प्रभावित बनेपछि उपचारस्थलको सुरक्षामाथि गम्भीर प्रश्न उठेको छ ।

अस्पताल भनेको जीवन बचाउने अन्तिम आशाको केन्द्र हो । चिकित्सक र स्वास्थ्यकर्मीले आफ्नो ज्ञान, सीप र अनुभवका आधारमा बिरामीलाई बचाउन हरसम्भव प्रयास गरिरहेका हुन्छन् । तर चिकित्सा विज्ञानका सबै प्रयास सफल हुन्छन् भन्ने निश्चित हुँदैन। कतिपय अवस्थामा सबै प्रयासका बाबजुद पनि बिरामीलाई बचाउन सम्भव हुँदैन। यस्तो अवस्था नेपालमा मात्र होइन, संसारभरका अस्पतालमा देखिने यथार्थ हो।

उपचारका क्रममा बिरामीको मृत्यु भएमा त्यसको कारणबारे कानुनी तथा प्राविधिक निकायमार्फत छानबिन गराउने व्यवस्था विद्यमान छ। चिकित्सकबाट लापरबाही भएको आशंका भए नेपाल मेडिकल काउन्सिल तथा सम्बन्धित निकायमा उजुरी दिने कानुनी अधिकार सबै नागरिकलाई छ। तर सत्यतथ्य नखोजी भीडको आडमा अस्पतालमा तोडफोड गर्नु, स्वास्थ्यकर्मीमाथि कुटपिट गर्नु र उपचारस्थललाई हिंसाको केन्द्र बनाउनु कुनै पनि दृष्टिले उचित मान्न सकिँदैन।

चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हुने यस्ता आक्रमणले उनीहरूको मनोबल मात्र कमजोर बनाउँदैन, सम्पूर्ण स्वास्थ्य प्रणालीलाई नै असर पुर्यानउँछ। यस्तो वातावरण निरन्तर रहिरहे गम्भीर प्रकृतिका बिरामीको उपचार गर्न चिकित्सकहरू नै त्रसित हुने अवस्था सिर्जना हुन सक्छ। अन्ततः यसको सबैभन्दा ठूलो असर उपचार खोजिरहेका सर्वसाधारण नागरिकमाथि नै पर्नेछ।

स्वास्थ्य सेवा सुरक्षित, मर्यादित र भयमुक्त वातावरणमा मात्र प्रभावकारी हुन सक्छ। त्यसका लागि अस्पताल, चिकित्सक, स्वास्थ्यकर्मी र सेवाग्राही सबैको सुरक्षा सुनिश्चित गर्नु राज्य, सुरक्षा निकाय, स्थानीय प्रशासन र समाजको साझा जिम्मेवारी हो।

स्वास्थ्य विज्ञहरूका अनुसार अस्पतालभित्र हुने हिंसात्मक गतिविधिप्रति शून्य सहनशीलताको नीति अपनाउँदै दोषीमाथि कानुनअनुसार कारबाही गर्नु आवश्यक छ। साथै बिरामीका परिवारको गुनासो निष्पक्ष रूपमा सुनुवाइ हुने व्यवस्था सुदृढ गर्दै अस्पताललाई उपचार र विश्वासको केन्द्रका रूपमा सुरक्षित राख्नु आजको आवश्यकता बनेको छ।

सम्बन्धित पोस्टहरुः