सुनसरी, साउन ११ —
सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा आइतबार प्रहरीको गोली लागेर एक युवाको मृत्यु भएपछि सुरु भएको विरोध प्रदर्शन सोमबार उग्र बनेको छ। विभिन्न स्थानमा आगजनी, तोडफोड र आक्रमणका घटना भएपछि अवस्था नियन्त्रणमा लिन नेपाली सेनासमेत परिचालन गरिएको छ।
आइतबार राति दुई समुदायबीच भएको विवाद नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर देवानगञ्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो। घटनामा गोली लागेर नौ जना सर्वसाधारण घाइते भएका छन् भने सुरक्षाकर्मीसहित २२ जनाभन्दा बढी घाइते भएको प्रहरीले जनाएको छ। घाइतेहरूको विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीका अनुसार सोमबार आक्रोशित प्रदर्शनकारीले देवानगञ्जका विभिन्न स्थानमा घर, पसल, ट्याक्टर, मोटरसाइकल तथा परालका टालीमा आगजनी गरेका छन्। देवानगञ्ज–२ मा स्थानीय अनबर अन्सारीको घर, हार्डवेयर पसल र ट्याक्टरमा आगजनी गरिएको प्रहरीले जनाएको छ।
यस्तै, देवानगञ्ज–४ का २० वर्षीय मोहन मेहतामाथि धारिलो हतियार प्रहार भएको छ। बजारबाट घर फर्कने क्रममा उनीमाथि आक्रमण भएको र गम्भीर अवस्थामा विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रदर्शन इनरुवासम्म फैलिँदा बजार क्षेत्रमा तोडफोड, कुटपिट र पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरिएको छ। प्रदर्शनकारीले इनरुवामा बजाज शोरुम, प्रहरी बिट, म्याजिक गाडी लगायतका संरचनामा क्षति पुर्याएका छन्।
स्थिति नियन्त्रणबाहिर जान थालेपछि प्रशासनले कप्तानगञ्ज क्षेत्रमा नेपाली सेना परिचालन गरेको छ। सुनसरी प्रहरीका अनुसार संवेदनशील क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त सुरक्षा व्यवस्था कडा पारिएको छ।
यसअघि जिल्ला प्रशासन कार्यालय सुनसरीले हरिनगरा गाउँपालिकाको घुस्की, भुटाहा तथा देवानगञ्ज र कप्तानगञ्ज बजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु जारी गरेको थियो। कर्फ्युका बीच पनि विभिन्न स्थानमा प्रदर्शन जारी रहेकाले सुरक्षा व्यवस्था थप कडा बनाइएको प्रहरीले जनाएको छ।
यसैबीच, सर्वदलीय तथा सर्वपक्षीय बैठकले जिल्लामा सामाजिक सद्भाव कायम राख्दै शान्ति स्थापना गर्न सबै पक्षसँग संयमता अपनाउन आग्रह गरेको छ।







