सुनसरी, साउन ११ —
सुनसरीको देवानगञ्ज–कप्तानगञ्ज क्षेत्रमा धार्मिक सद्भाव बिग्रिएपछि गृह मन्त्रालयले सुनसरीका प्रमुख जिल्ला अधिकारी (सीडीओ), कोशी प्रदेशका प्रहरी नायब महानिरीक्षक (डीआईजी) लगायत प्रमुख सुरक्षा अधिकारीहरूको जिम्मेवारी परिवर्तन गरेको छ।
गृह मन्त्रालयले सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेलाई फिर्ता बोलाएर उनको स्थानमा संखुवासभाका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्याललाई खटाएको छ।
त्यसैगरी, कोशी प्रदेशका डीआईजी विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालय फिर्ता बोलाई उनको स्थानमा डीआईजी शेखर खनाललाई पठाउने निर्णय गरिएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक (एसपी) केशव थेबेलाई भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सरुवा गरिएको छ भने विमानस्थलमा कार्यरत एसपी पुष्पराज मल्ललाई सुनसरी पठाइएको छ।
यस्तै, सशस्त्र प्रहरी बलको कप्तानगञ्जस्थित युनिटमा कार्यरत डीएसपी नन्दकिशोर महतोलाई फिर्ता बोलाएर उनको स्थानमा डीएसपी मदन नाथलाई खटाइएको छ।
कप्तानगञ्जमा दुई समुदायबीच भएको झडप र त्यसपछिको तनावलाई ध्यानमा राख्दै सुरक्षा व्यवस्था थप प्रभावकारी बनाउन गृह मन्त्रालयले सुरक्षा नेतृत्वमा फेरबदल गरेको जनाएको छ।






