राधेश्याम पटेल, वीरगंज, साउन १०
नारायणी अस्पतालका झन्डै ८० जना चिकित्सकले सामूहिक राजीनामा दिने घोषणा गरेका छन्। नेपाल चिकित्सक संघ नारायणी शाखा वीरगञ्जका अध्यक्ष डा. मनोज गुप्ताका अनुसार अस्पतालका चिकित्सकमाथि पर्साका सुरक्षा अधिकारीले दुर्व्यवहार गरेको भन्दै सामूहिक राजीनामा दिने निर्णय गरिएको हो।
शनिबार बिहान उपचारका क्रममा वीरगंज महानगरपालिका–२५, भन्सार सिर्सिया टोलका ५० वर्षीय राजकुमार पटेलको मृत्यु भएपछि आक्रोशित आफन्तले नारायणी अस्पतालमा तोडफोड गरेका थिए। सो क्रममा आकस्मिक कक्षमा कार्यरत मेडिकल अफिसर डा. प्रमोद राममाथि आक्रमण हुँदा उनी गम्भीर घाइते भएका थिए। हाल उनको उपचार काठमाडौंमा भइरहेको छ ।
उक्त घटनाको विरोधमा चिकित्सकहरूले आकस्मिक सेवासहित अस्पतालका अधिकांश सेवा दुई दिनदेखि बन्द गरी आन्दोलन गर्दै आएका छन्। उनीहरूले डा. राममाथि आक्रमण गर्ने व्यक्तिमाथि कानुनी कारबाहीको माग गर्दै शान्तिपूर्ण धर्ना दिइरहेका छन्।
चिकित्सकहरूका अनुसार जिल्ला प्रशासन कार्यालय पर्साले छलफलका लागि बोलाए पनि आन्दोलनरत चिकित्सकलाई जानकारी नदिई मृतक पक्षलाई पनि सँगै राखेर छलफल गर्न खोजेपछि विवाद उत्पन्न भएको थियो। आन्दोलनरत चिकित्सकले मृतक पक्षसँग संयुक्त छलफल नगर्ने अडान राख्दै प्रमुख जिल्ला अधिकारी भोला दाहालसंग वार्ता गर्न माग गरेका थिए।
नेपाल चिकित्सक संघका अध्यक्ष डा. मनोज गुप्ताका अनुसार त्यसपछि प्रमुख जिल्ला अधिकारीको निर्देशनमा सुरक्षा निकायले चिकित्सकसँग दुर्व्यवहार गर्दै केही घण्टासम्म बैठक कक्षमै रोकेर राखेको, मोबाइलसमेत प्रयोग गर्न नदिएको आरोप लगाएका छन्। यसैगरी,मंगलबारदेखि वीरगंजका सबै अस्पतालको ओपिडी सेवा ठप्प पार्ने निर्णय समेत भएको छ ।
यता,प्रमुख जिल्ला अधिकारी भोला दाहालले भने चिकित्सकहरूले आफ्नो राजीनामा मागेपछि छलफलको वातावरण बिग्रिएको दाबी गरेका छन्। उनले चिकित्सकलाई बन्धक नबनाइएको, अस्पतालको सेवा सुचारु गराउने उद्देश्यले छलफलका लागि मात्र बैठक कक्षमा राखिएको बताएका छन्।
घटनाबारे दुवै पक्षले फरक–फरक दाबी गरेका छन् ।






