सुनसरी घटनाको विरोधमा वीरगजंमा प्रदर्शन, टायर बालेर नाराबाजी

1200x150_1200x150-01.jpg (1)

पर्सा, साउन १०

सुनसरीको देवानगञ्ज–३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएको घटनाको विरोधमा सोमबार साँझ वीरगञ्जमा प्रदर्शन गरिएको छ।

गहवामाई मन्दिर प्राङ्गणबाट सुरु भएको विरोध जुलुस आदर्शनगर चोक, अलखिया मठ चोक र घडीअर्वा हुँदै घण्टाघर चोक पुगेको थियो। प्रदर्शनकारीहरूले घण्टाघर चोकमा टायर बालेर नाराबाजी गरेका थिए।

प्रदर्शनका क्रममा सहभागीहरूले सुनसरी घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही, सुनसरीका प्रमुख जिल्ला अधिकारीको राजीनामालगायतका माग राख्दै विभिन्न नाराबाजी गरेका थिए। केही प्रदर्शनकारीले नेपाललाई हिन्दु राष्ट्र कायम गर्नुपर्ने मागसमेत अघि सारेका थिए।

टायर बालेर प्रदर्शन भइरहेका बेला प्रहरीले हस्तक्षेप गर्न खोजेपछि केहीबेर प्रदर्शनकारी र प्रहरीबीच धकेलाधकेलसमेत भएको प्रत्यक्षदर्शीहरूले बताएका छन्। त्यसपछि स्थिति नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।

प्रदर्शनमा सहभागी हिन्दुवादी नेतृ रमितामाया गुप्ताले सुनसरी घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही हुनुपर्ने माग गरिन्। यस्तै, हिन्दुवादी अगुवा ओमप्रकाश गुप्ताले घटनामा संलग्नमाथि कानुनी कारबाही नभए आन्दोलनलाई थप सशक्त बनाइने चेतावनी दिए।

प्रदर्शनका कारण केही समय वीरगञ्जको मुख्य बजार क्षेत्रमा सवारी आवागमन प्रभावित भएको थियो। प्रहरीले भने अवस्था अहिले सामान्य रहेको जनाएको छ।

सम्बन्धित पोस्टहरुः