सुनसरीको कोशी कटान क्षेत्रको पसलमा तोडफोड, लुटपाट र आगजनी

1200x150_1200x150-01.jpg (1)

सुनसरी, साउन १२

सुनसरीको कोशी कटान क्षेत्रको अवस्था मंगलबार थप तनावग्रस्त बनेको छ। स्थानीयका अनुसार उक्त क्षेत्रमा रहेका केही पसलमा तोडफोड, लुटपाट र आगजनी भइरहेको छ। घटनास्थलमा नेपाल प्रहरी परिचालन गरिएको छ।

देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनाको विरोधमा उत्रिएको समूहले पूर्व–पश्चिम राजमार्गका विभिन्न स्थानमा टायर बाल्दै सडक अवरुद्ध गरेको छ। आन्दोलनका कारण राजमार्गमा सवारी आवागमन प्रभावित भएको छ।

आइतबार कप्तानगञ्जमा दुई समूहबीच भएको झडप नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको थियो भने नौ जना घाइते भएका थिए। त्यसपछि स्थिति नियन्त्रणमा लिन स्थानीय प्रशासनले दक्षिण क्षेत्रका पाँच स्थानमा कर्फ्यु आदेश जारी गरेको थियो। कर्फ्युका बीच पनि सोमबार दिनभर प्रदर्शन जारी रहेको थियो।

प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालद्वारा जारी सूचनाअनुसार मंगलबार बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म देवानगञ्ज र हरिनगर गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा निषेधाज्ञा लागू गरिएको छ। हरिनगरा, भुटाहा, कप्तानगञ्ज, घुस्की र देवानगञ्ज बजार क्षेत्रमा कर्फ्यु यथावत् रहेको प्रशासनले जनाएको छ।

सम्बन्धित पोस्टहरुः