पर्सा , साउन १२ –
सर्वोच्च अदालतले वीरगंज महानगरपालिकाका निलम्बित मेयर राजेशमान सिंहले पुनः पदमा फर्किन पाउनुपर्ने मागसहित दायर गरेको रिट निवेदन खारेज गरेको छ।
न्यायाधीशद्वय बालकृष्ण ढकाल र महेश शर्माको संयुक्त इजलासले रिट खारेज गर्ने आदेश दिएसँगै सिंहको निलम्बन यथावत् रहने भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारसम्बन्धी मुद्दा विशेष अदालतमा दायर गरेपछि कानुनी व्यवस्थाअनुसार सिंह स्वतः निलम्बनमा परेका थिए। त्यसपछि उनले आफूलाई मेयरको रूपमा काम गर्न दिन माग गर्दै सर्वोच्चमा उत्प्रेषणको रिट दायर गरेका थिए।
सर्वोच्चको आदेशसँगै विशेष अदालतमा विचाराधीन मुद्दाको अन्तिम फैसला नआएसम्म राजेशमान सिंहको निलम्बन कायम रहने भएको छ।






