पर्सा , साउन १३ –
प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरीमा भएको साम्प्रदायिक तनाव र हिंसात्मक घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेका छन्।
मंगलबार मध्यराति सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक सन्देशमा प्रधानमन्त्री शाहले घटनामा ज्यान गुमाएका व्यक्तिप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। उनले पीडित परिवारलाई न्याय र क्षतिपूर्ति उपलब्ध गराइने तथा घटनामा संलग्न दोषीलाई कानुनबमोजिम कारबाही गरिने विश्वास दिलाएका छन्।
प्रधानमन्त्री शाहले सुरक्षाकर्मीको गोली लागेर नागरिकको ज्यान जानु र घाइते हुनु कुनै पनि हालतमा सामान्य विषय नभएको उल्लेख गर्दै घटनाबारे अनुसन्धान सुरु भइसकेको र कानुनी प्रक्रियाअनुसार कारबाही हुने बताएका छन्।
सरकारले घटनाबाट पाठ सिकेर भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक निर्णय र सुधारका कदम अघि बढाइरहेको उल्लेख गर्दै उनले नागरिकलाई उत्तेजना, आक्रोश र बदलाको भावनामा नबग्न आग्रह गरेका छन्।
प्रधानमन्त्री शाहले सामाजिक सद्भाव, आपसी सम्मान र संयम कायम राख्न सबैमा अपिल गर्दै सरकार नागरिकको सुरक्षा, पीडितलाई न्याय र दोषीमाथि कारबाही गर्न पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।






