सुनसरीमा तेस्रो पटक कर्फ्यु विस्तार, १० क्षेत्रमा अनिश्चितकालीन आदेश लागू

1200x150_1200x150-01.jpg (1)

पर्सा , साउन १३

सुनसरीको देवानगञ्जमा भएको घटनापछि प्रदर्शन र तनाव नरोकिएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका १० क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेवप्रसाद अर्यालका अनुसार गएराति ९ बजेदेखि अर्को आदेश नभएसम्मका लागि इटहरी उपमहानगरपालिका–१६ र १७ अन्तर्गत महेन्द्र राजमार्गको दायाँ–बायाँ २०० मिटर क्षेत्र, रामधुनी नगरपालिका–१ र ५ अन्तर्गत महेन्द्र राजमार्गको दायाँ–बायाँ २०० मिटर क्षेत्र, इनरुवा र दुहबी नगरपालिका तथा भोक्राहा नरसिंह, कोशी, गढी, देवानगञ्ज, हरिनगर र बर्जु गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा कर्फ्यु लागू गरिएको हो।

कर्फ्यु अवधिभर तोकिएका क्षेत्रमा आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा धर्नालगायत सबै गतिविधि निषेध गरिएको प्रशासनले जनाएको छ।

यसअघि सोमबारदेखि लगाइएको कर्फ्यु केही क्षेत्रमा हटाएर निषेधाज्ञा कायम गरिएको थियो। तर मंगलबार पनि अवस्था तनावपूर्ण बनेपछि प्रशासनले महेन्द्र राजमार्गको इटहरीको पकली चोकदेखि कोशी ब्यारेजसम्मको क्षेत्रमा पुनः अनिश्चितकालीन कर्फ्यु जारी गरेको थियो। पछिल्लो निर्णयसँगै प्रशासनले तेस्रो पटक कर्फ्युको दायरा विस्तार गरेको हो।

देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा आइतबार राति भएको झडप नियन्त्रणका क्रममा प्रहरीको गोली लागेर ३० वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएपछि क्षेत्रको अवस्था तनावग्रस्त बनेको छ। घटनापछि धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न प्रधानमन्त्रीसहित विभिन्न राजनीतिक दलका नेताहरूले संयमता अपनाउन अपिल गरेका छन्।

सम्बन्धित पोस्टहरुः